• ७ असोज २०८३, बुधबार
  • ८ः२७ बिहान

आजदेखि पोखरामा गुड्न थाले नगरबस

प्रकाशित मिति

२०७७ श्रावण ९ गते, शुक्रबार ०९:३१

पोखरा । आजदेखि पोखरामा नगर बस गुड्न शुरु गरेका छन् । कोरोना भाइरस कोभिड–१९, का कारण कायम रहेको लकडाउनले लामो समयदेखि रोकिएका सार्वजनिक सवारी साधन सरकारले आधारभूत मापदण्ड अपनाएर सञ्चालन गर्न अनुमति दिएसँगै गुड्न शुरु गरेका हुन् ।

National Life

पोखरामा महानगरपालिकामा ३७८ नगर बसमध्ये आज करिब आधा नगरबस सञ्चालनमा आएका छन् । पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रसाद गुरुङले कोरोना जोखिमको आधारभूत मापदण्डलाई अपनाएर आज करिब आधा बस सञ्चालनमा आएका जानकारी दिएका छन् ।

गुरुङका अनुसार यसअघि लिइराखेको भाडा दरमा दोब्बर लिने गरी र एक सिटमा एक जना यात्रुमात्र राख्ने गरी बस सञ्चालन गरिएको हो । गाडी चालक, सहचालक यात्रु सबैले आधारभूत स्वास्थ्य मापदण्ड अपनाउनुपर्नेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

लामो समय गाडी नचलेपछि अधिकांश गाडी ग्यारेजमा थन्किएका छन् भने चालक, सहचालक आआफ्नो घर गएकाले पनि सबै गाडी सञ्चालनमा आउन अझै समय लाग्ने गुरुङको भनाइ छ । बस सञ्चालनको पहिलो दिन भएकाले यात्रुको चाप त्यति देखिएको छैन भने यात्रु सबैले मास्कको प्रयोग गरेका छन् ।

त्यसैगरी १२० दिने बन्दाबन्दी खुलेसँगै पृथ्वीराजमार्गअन्तर्गतका लामा छोटा दूरीका बस पनि अब चल्ने भएका छन् । पृथ्वीराजमार्ग बस सञ्चालक समितिका अध्यक्ष योगेन्द्र केसीले अब केही दिनमै लामाछोटा दूरीका सार्वजनिक बस सञ्चालन गरिने जानकारी दिए । केसीका अनुसार कास्कीमा पृथ्वीराजमार्ग अन्तर्गतका करिब एक हजार ४०० बस सञ्चालनमा छन् ।

पोखरेली ट्याक्सी सेवा प्रालीका अध्यक्ष प्रकाश तिवारीका अनुसार पोखराको सडकमा गत असार २६ गतेदेखि नै ट्याक्सी गुड्न थालेका हुन् । पोखरामा करिब दुई हजार २०० ट्याक्सी रहेकामा अहिले आधारभूत स्वास्थ्य सतर्कतासहित करिब एक हजार ५०० ट्याक्सी पोखराको सडकमा गुडेका छन् ।

प्रतिकृया