• २७ भदौ २०८३, शनिबार
  • १०ः३२ बिहान

ओलीको प्रस्तावबाट गौतम लोभिए कि भन्ने दाहाल–नेपाल खेमामा आशंका

प्रकाशित मिति

२०७७ बैशाख २० गते, शनिबार ११:५८

 

National Life

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद सहमतिमा समाधान गर्न पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले छलफललाई तीव्रता दिएका छन्। सहमति जुटाउन वरिष्ठ नेता माधवकुमार नेपाललाई बिहीबार साँझ भेटेका ओलीले शुक्रबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्। तर दाहाल–नेपाल समूह भने ओलीलाई गलाउने रणनीतिमा छन्।

ओलीसँगको भेटमा नेपालले पार्टीमा तेस्रो अध्यक्षका लागि गरिएको प्रस्ताव असान्दर्भिक र अनावश्यक भन्दै अस्वीकार गरेका थिए। नेपालले ओलीको यो प्रस्ताव समस्या समाधानका लागि नभई आफूलाई खुइल्याउन, अप्ठेरोमा पार्न र पदलोलुप देखाउन ल्याइएको तथा वर्तमानको आवश्यकता पनि नभएको भन्दै अस्वीकार गरेको स्रोतले बतायो। नेपालले आफ्नो लडाइँ पदका लागि नभई पार्टीलाई विधिसम्मत ढंगले चलाउन र क्रियाशील बनाउन केन्द्रित रहेको प्रष्ट पारेका थिए। साथै, उनले पार्टीमा अहिले चर्किएको विवाद प्रधानमन्त्री र अध्यक्ष को हुने, कसलाई बनाउने भन्ने नभएकाले यसमा नअल्झिन पनि ओलीलाई सुझाएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल आफ्नो पूर्ववत् अडानमा टसमस नभएपछि ओलीले शुक्रबार कार्यकारी अध्यक्ष दाहाललाई भेटेका हुन्। ओलीसँग वार्ता गरेपछि दाहाल सीधै नेपाल निवास कोटेश्वर पुगेका थिए। दाहाल–नेपाल भेटवार्ता पार्टीभित्र गहिरिँदै गएको विवाद र समाधानका उपायमा केन्द्रित थियो।

दुई दिनअघि बुधबार बसेको सचिवालय बैठकमा दाहाल र नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका थिए। सो बैठकमा ओलीले कोरोना संक्रमणबाट मुलकले पार पाएपछि आफूले सत्ता छोड्ने तर त्यसपछि प्रधानमन्त्री वामदेव गौतम बन्नुपर्ने प्रस्ताव पनि राखेका थिए। ओलीको उक्त प्रस्तावबाट गौतम लोभिएका छन् कि भन्ने आशंका दाहाल–नेपाल खेमामा बढेको छ। दाहाल–नेपाल समूहलाई कमजोर बनाउने ओलीले यस्तो प्रस्ताव गरेको अनुमान गर्न सकिन्छ । नागरिक दैनिकबाट साहाभार

प्रतिकृया