बिपी प्रतिष्ठान कोरोना अस्पतालका लागि तयार, आइतबारदेखि सेवा सुरु
प्रकाशित मिति
२०७७ बैशाख १३ गते, शनिबार ०७:५०
काठमाडौं । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुट्टै एक सय बेड आइसोलेसन सहितको कोरोना अस्पताल तयार गरिएको छ । एक सातामा प्रतिष्ठानको पुनर्स्थापना केन्द्रलाई कोरोना अस्पतालको रूपमा तयार गरिएको छ ।
पुनर्स्थापना केन्द्रमा फिजियोथेरापीको उपचार भइरहेको थियो । उक्त सामग्री अन्यत्र सारेर कोरोना अस्पताल तयार गरिएको हो । आइतबारदेखि उक्त अस्पतालबाट सेवा सुरु गरिने प्रतिष्ठानका सहप्रवक्ता डा.अशोक ऐरले जानकारी दिएका छन्।

उनका अनुसार सय बेडको आइसोलेसनसहित १० वटा आइसियू बेडको व्यवस्था गरिएको छ । कोरोना अस्पतालका लागि छुट्टै एक्स रे, सिटी स्क्यान, अप्रेसन थिएटर राखिएको छ ।

प्रतिष्ठानमा यसअघि २० वटा बेडको आइसोलेसन वार्ड सञ्चालन रहेको थियो । प्रतिष्ठानमा रहेको पेइङ वार्डलाई आइसोलेसन वार्ड बनाएर संक्रमणको आशंका लागेका बिमारीलाई राखिँदै आएको थियो ।
प्रतिष्ठानमा शुक्रबारसम्म तीन सय ६७ जनाको थ्रोट स्वाब परीक्षण गरिएको छ । तीमध्ये ११ जनाको रिपोर्ट पोजिटिभ आएको थियो । हाल नेपालमा कोरोना भइरसको संक्रमणको संख्या ४९ जना पुगेका छन् । त्यस मध्य १० जना निको भएर घर गएका छन् ।




प्रतिकृया