नेपाल कोरानाको उच्च जोखिममा, भ्रमण वर्ष २०२० स्थगित गर्ने तयारी
प्रकाशित मिति
२०७६ फाल्गुन १९ गते, सोमबार ०६:००
काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष २०२० र सगरमाथा सम्वाद कार्यक्रम स्थगित गर्ने तयारी गरेको छ ।
दुबै कार्यक्रम स्थगित गर्नेबारे आइतबारको मन्त्रिपरिषद बैठक र उच्चस्तरीय समितिमा छलफल भएपनि औपचारिक घोषणा भने हुन बाँकी छ । सम्भवतः एक र दुई दिनभित्रै औपचारिक निर्णय हुनेछ ।

चीनको वुहानबाट सुरु भएको कोरानो भाइरसको संक्रमण अहिले युरोप र मध्यपूर्वसम्म फैलिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले पनि नेपाललाई उच्च जोखिममा राखेपछि सरकारले शनिबार मात्र उच्च सतर्कता अपनाउन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समिति नै बनाएको थियो ।

आइतबार मन्त्रिपरिषद् लगतै समिति बैठक बसेको थियो, जहाँ भ्रमण वर्ष र सगरमाथा सम्वाद स्थगित गर्नेबारे छलफल भएको छ । कोरोनाले विश्व नै आक्रान्त बनिरहेका बेला सगरमाथा सम्वाद र भ्रमण वर्ष मनाउनु सान्दर्भिक नहुने निश्कर्ष निकालिएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।
कोरोनाबारे सतर्कतामा जोड दिने बेलामा पर्यटन प्रवर्द्धनमा ध्यान दिन नसकिने भएकाले अहिलेलाई भ्रमण वर्ष रोकेर अघि बढ्नुपर्ने कुरा बैठकमा उठेको एक मन्त्रीले बताए । यसबारे पर्यटन मन्त्रालयले अवस्था विश्लेषण गरेर आवश्यक निर्णय लिने बताइएको छ । शनिबार नै सरकारले विदेशमा भ्रमण वर्षको प्रवर्द्धनात्मक कार्यक्रमहरु स्थगित गर्ने घोषणा गरेको थियो ।




प्रतिकृया