• ६ असोज २०८३, मंगलबार
  • १२ः४२ दिउँसो

आज महाशिवरात्त्री, भव्यताका साथ मनाइँदै

प्रकाशित मिति

२०७६ फाल्गुन ९ गते, शुक्रबार ०७:५०

काठमाडौँ । फाल्गुण कृष्ण चतुर्दशीको रात शुक्रबार भगवान् शिवको स्तुति आराधना गरेर पशुपतिनाथ लगायत मुलुकका सबै शिवालयमा धुनी बालेर महाशिवरात्रि पर्व मनाइँदैछ । यो रात शिवको आराधना गर्दा छिट्टै प्रसन्न हुने आशुतोष स्वभावका भगवान् शिवबाट इहलोक र परलोक दुवैमा भक्तलाई शिवशक्ति प्राप्त हुन्छ भन्ने पुराण लगायतका ग्रन्थमा वर्णन गरिएको छ ।

National Life

बडादसैँ अघिको कालरात्रि, लक्ष्मीपूजाको सुखरात्रि, कृष्ण जन्माष्टमीको मोहरात्रि र महाशिवरात्रि गरी यी चार रातलाई अति महत्वको रातका रूपमा लिइएको छ । माघमा महादेवको रुद्रत्वले जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भएका रुख–बिरुवा, झारपात उनै महादेवको शिवत्व जगत्लाई कल्याण गर्ने तत्वले गर्दा पलाउने हुँदा फागुनमा शिवरात्रि मनाउने गरिएको हो पनि भनिन्छ ।

व्रतमध्ये सर्वश्रेष्ठ मानिएको यो दिन दूध, बेलपत्र, धतुरो चढाउने र रातभर जाग्राम रही शिवको स्तुति गर्दै व्रत बस्ने प्रचलन छ । काठमाडौँको पशुपतिनाथका साथै हाट सिंजा जुम्ला, नौलीगाउँ बझाङ, आमागाउँ रुपन्देही, कैलाशमाडौँ बाजुरा चतरामठ सुनसरी, खलङ्गा ब्राह्मणटोल प्यूठानमा चहलपहल हुनेगर्छ । यसैगरी लेगुवा धनकुटा, शेरेश्वर महादेव शोभागाउँ रुकुम, नर्वदेश्वर ओखलढुङ्गा, खोटाङको हलेसी, महोत्तरीको जलेश्वर, भक्तपुरको डोलेश्वर र अनन्त लिङ्गेश्वर, लमजुङको करापुटारमा अवस्थित सन्तानेश्वर लगायत मुलुकका सबै स्थानका कहलिएका शिवालयमा भव्यताका साथ पर्व मनाउने तयारी भएको छ ।
पशुपतिनाथ लगायतका शिवालयमा धेरै साधुको आगमन भइसकेको छ । पशुपतिनाथ मन्दिर परिसरमा नागाबाबाले धुनी जगाएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

कालमोचनघाटमा पनि हिमाञ्चल प्रदेश, हरियाणा, गया, काशीबाट धेरै साधुको आगमन भएको र यसमध्ये उत्कृष्ट साधुको जमात पनि धुनीमा रहेको पशुपति गुठी गोश्वाराका वरिष्ठ लेखा सहायक युवराज रेग्मीले जानकारी दिनुभएको छ ।
क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाका अनुसार पर्वमा सुरक्षा व्यवस्थालाई महत्व दिइएको छ भने विशेषज्ञ चिकित्सक सहितको निःशुल्क स्वास्थ्य शिविर यत्रतत्र राखिएका छन् । रामघाट स्वास्थ्य केन्द्र पिङ्गलास्थान, आनन्दखेरा फ्रेन्ड एन्ड फेमिली ट्रस्ट, परोपकार, रेडक्रस, आर्यघाट सेवा केन्द्र र निजी अस्पतालका यहाँ शिविर छन् ।

कालमोचनको साधु अखडामा पनि साधुले धुनी जगाएका छन् । पशुपतिनाथमा रातको चार प्रहरै पञ्चामृतसहित अतिरुद्री र अन्य चार प्रकारका पूजा अतिरिक्त महादीप, अखण्डदीप, दीपोत्सव र लाख बेलपत्र अर्पण गरेर पशुपतिनाथको आराधना हुँदैछ । ज्योतिषी डा. सुनील सिटौलाका अनुसार शुक्रबार साँझ ५ः४० बजेसम्म त्रयोदशी परेकाले यो समयपछि शिवको आराधना, पूजा गर्दा उत्तम हुन्छ ।

प्रतिकृया