• २४ भदौ २०८३, बुधबार
  • १२ः५० दिउँसो

कुलमान कमाल : विद्युत् चुहावट साढे ९ प्रतिशतमा झर्यो, बर्षेनी थप १० अर्ब कमाइ

प्रकाशित मिति

२०७६ फाल्गुन ५ गते, सोमबार ०६:३२

काठमाण्डौ ।  नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक (आव) वर्षको ६ महिनामा वितरणतर्फको चुहावट ९ दशमलव ७८ प्रतिशतमा झारेको छ । गएको आर्थिक वर्षमा ११ दशमलव २८ प्रतिशत रहेको वितरणतर्फको चुहावटलाई यो आर्थिक वर्षको पुससम्ममा ९ दशमलव ७८ प्रतिशतमा झारिएको प्राधिकरणले जनाएको छ । यो आर्थिक वर्षमा वितरणतर्फको विद्युत् चुहावटलाई साढे ८ प्रतिशतमा झार्ने लक्ष्यका साथ प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण र सेवाप्रवाह सुधार तथा विस्तारमा केन्द्रित भएर काम गरिरहेको छ ।

National Life

आर्थिक वर्ष २०७२/७३ मा प्रणालीमा रहेको २५ दशमलव ७८ प्रतिशत विद्युत् चुहावटलाई गएको आर्थिक वर्षसम्ममा १५ दशमलव ३२ प्रतिशतमा झारिएको छ । चालु आवमा प्रणालीको चुहावट १३ प्रतिशतभन्दा कममा झार्ने लक्ष्य लिइएको छ । चुहावट नियन्त्रणबाट मात्रै वार्षिक रुपमा झण्डै १० अर्ब रुपैयाँ थप आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । बाँकी ६ महिनामा तय गरिएको लक्ष्य हासिल हुने पनि कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।

प्राधिकरणले गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महशुल बक्यौता असुलीमा कडाइ, मिटर बाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाही गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने र प्राविधिक चुहावट नियन्त्रणका लागि सबस्टेसनको क्षमता वृद्धि गर्ने, कण्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्री फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्नेलगायतका काम अभियानकै रुपमा चलाइरहेको घिसिङको दाबी छ ।

Classic Tech Mobile
Classic Tech Desktop

‘विकसित देशमा पनि वितरणतर्फको विद्युत् चुहावट पाँच प्रतिशतको हाराहारीमा हुन्छ, प्रसारण तथा वितरणतर्फका निर्माणाधीन सबै सबस्टेसन सञ्चालनमा आएपछि हामी पनि विकसित देशकै हाराहारीमा पुग्छौं’, घिसिङले भन्नुभयो ।
प्राधिकरण व्यवस्थापनले विद्युत् चुहावट नियन्त्रण, विद्युतीकरण र सेवा प्रवाह सुधारमा केन्द्रित रहेर प्राधिकरणका सात प्रादेशिक तथा दुई प्रदेश डिभिजन कार्यालय प्रमुखहरु र मातहतका एक सय २९ वितरण केन्द्र प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ ।

प्राधिकरणले चुहावट नियन्त्रण, बक्यौता असुलीलगायतका निर्धारण गरिएका लक्ष्यको प्रगतिका आधारमा ग्राहक तथा वितरण सेवातर्फ कर्मचारीलाई कार्यसम्पादनमा आधारित पुरस्कार (ईपीआर) लागू गरेको छ ।
उहाँले वितरण तथा ग्राहक सेवाअन्तर्गतका व्यवस्थापक र दिनरात नभनि खटिएका कर्मचारी, गृह प्रशासनलगायत सबैको साथ र सहयोगमा चुहावट घटाउन सफल भएको बताउनुभयो । ‘प्राविधिक र गैरप्राविधिक चुहावट नियन्त्रणका लागि देशभर चालिएको अभियानलाई अझै सशत्त र प्रभावकारी बनाउँछौं’,उहाँले भन्नुभयो ।

मिटर लिन प्रोत्साहित गर्न सुकुम्बासीलाई पनि मिटर सहजरुपमा दिने, पालिकाको सिफारिस बिना नै मिटर जडान गर्ने, अतिविपन्नहरुलाई निःशुल्क मिटर वितरण भइरहेको छ ।

प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानले चालु आवको पहिलो ६ महिनामा प्राविधिक र गैरप्राविधिक चुहावट नियन्त्रणका लागि झण्डै ५० करोड रुपैयाँको काम गरिएको जानकारी दिनुभयो ।

‘चोरी नियन्त्रणका लागि देशभरका हरेक वितरण केन्द्रहरुले ’युनिक–युनिक’ अभियान चलाइरहेका छन्, बढी चोरी भएको ठाउँका विद्यालयमा गएर विद्यार्थीको जनचेतना अभिवृद्धि गर्ने, स्थानीय तह तथा प्रशासनसँग समन्वय र सहकार्य गरी अभियान चलाइएको छ, प्राविधिक चुहावट नियन्त्रणका लागि पनि व्यापकरुपमा काम भइरहेको छ’, उहाँले भन्नुभयो ।

प्रतिकृया