उपत्यका विकास प्राधिकरण खारेजी गर्न उपत्यका नगरपालिका फोरमले ठोस कदम चाल्ने
प्रकाशित मिति
२०७६ मंसिर २४ गते, मंगलवार ०९:४६
भक्तपुर, उपत्यकाका विभिन्न महानगर र नगरपालिकाका मेयरहरुले पुर्वाधार विकासका लागि कार्य गर्दै आएको उपत्यका विकास प्राधिकरण खारेजीको माग गरेका छन् । उपत्यका नगरपालिका फोरमको सोमबार साँझ भक्तपुरमा बसेको बैठकले प्राधिकरण खारेजीका लागि सम्बन्धित निकायसँग माग गर्ने निर्णय गरेको हो । फोरमले गत वैशाखमै पनि प्राधिकरण खारेजीको विषय उठाएको थियो ।फोरमको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा फोरमका सचिव तथा मध्यपुरथिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले प्राधिकरण खारेज गर्ने विगतमै भइसकेको निर्णय कार्यान्वयन गर्न अझै ठोस् रुपमा कदम चाल्ने निर्णय भएकोे बताउनुभयो । फोरमको सचिवालय काठमाडौँ महानगरपालिकामा स्थापना गर्ने निर्णय समेत गरेको छ ।
फोरमको बैठकले अक्टोवर–२०२१ मा काठमाडौँमा अन्तराष्ट्र्रिय मेयर सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ ।पर्यटन बर्ष २०२०लाई लक्षित गरी सम्मेलन गर्न लागिएको हो ।सम्मेलनमा छिमेकी र चर्चित शहरका मेयरहरुसँगै उपत्यका क्षेत्रका नगरपालिकासँग भगिनी सम्बन्ध जोडिएका शहरका मेयरहरुको विशेष उपस्थिति गराउने फोरमले जनाएको छ । फोरमले उपत्यका क्षेत्रको फोहोर व्यवस्थापनमा अन्तर नगरपालिका समन्वय गरेर ठोस पहल गर्ने, विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहमा समस्या समाधानकालागि केन्द्र र प्रदेश सरकारसँग समन्वय गर्ने लगायत निर्णय गरेको छ ।
फोरमको छैठौं बिस्तारित बैठकले ललितपुर महानगरपालिकाले अघि सारेको साइकल लेनको अवधारणालाई सबै नगरपालिकाले ध्यानमा राखेर प्राथमिकताका साथ काम गर्ने निर्णय गरेको छ । ९ मेयर र १२ उपमेयरको सहभागिता रहेको बैठकमा ६ बिषयमा छलफल भएको फोरम अध्यक्ष तथा काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले बताउनुभयो ।
उहाँले बिषयगत कार्यालयबाट स्थानीय तहसँग गर्नुपर्ने समन्वय बिकासका सन्दर्भमा नगरिएको सन्दर्भमा समन्वय अभावका कारण बिकास निर्माण र सार्वजनिक सेवा प्रवाहमा देखिएको समस्यालाई समाधान गर्न राष्ट्रप्रमुख र सरकारप्रमुखसँग अनुरोध सहित पहल गर्ने निर्णय भएको बताउनुभयो ।






प्रतिकृया