दसैंमा १५ लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान
प्रकाशित मिति
२०८३ आश्विन १५ गते, बिहीबार १२:२९
१५ असोज २०८३ काठमाडौं — दसैंमा यस वर्ष काठमाडौं उपत्यकाबाट करिब १५ लाख यात्रु बाहिरिने अनुमान गरिएको छ। तीमध्ये सार्वजनिक यातायातबाट मात्रै करिब १० लाख यात्रुले उपत्यका छाड्ने प्रक्षेपण गरिएको छ।
संसदीय पूर्वाधार विकास समितिको प्रतिवेदनअनुसार फूलपातीदेखि अष्टमीसम्म यात्रुको चाप उच्च हुनेछ। फूलपातीका दिन मात्रै १ लाख १३ हजारभन्दा बढी यात्रु बाहिरिने र करिब ७ हजार ३६७ सार्वजनिक सवारीसाधनका ट्रिप आवश्यक पर्ने अनुमान छ।
नागढुंगा, साँगा र फर्पिङ नाकामा चाप बढ्ने भएकाले ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण हुने प्रतिवेदनले जनाएको छ। सडकको अवस्था र सम्भावित बाढीपहिरोलाई ध्यान दिँदै सडक विभागले संवेदनशील स्थानमा ५३ वटा ठूला उपकरण तयारी अवस्थामा राख्ने योजना बनाएको छ।
यात्रा सुरक्षित बनाउन लामो दूरीका सवारीमा दुई चालक अनिवार्य गर्ने, मापसे/लापसे परीक्षण कडाइ गर्ने तथा यात्रु सहायता कक्ष र हटलाइन प्रभावकारी बनाउन सुझाव दिइएको छ।








प्रतिकृया