• १४ असोज २०८३, बुधबार
  • १२ः०४ दिउँसो

एआईआईबीको वार्षिक बैठक सकेर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए

प्रकाशित मिति

२०८३ आश्विन १४ गते, बुधबार १२:०२

१४ असोज २०८३ काठमाडौं — एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को वार्षिक बैठकमा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बुधबार स्वदेश फर्किएका छन्। मन्त्री वाग्ले कतार एयरवेजको जहाजमार्फत बुधबार बिहान ८ः४५ बजे काठमाडौं आइपुगेका हुन्।

National Life

उनी बैठकमा सहभागी हुन असोज १० गते कतारको राजधानी दोहा प्रस्थान गरेका थिए। वार्षिक बैठकले अर्थमन्त्री वाग्लेलाई सन् २०२६–२७ का लागि एआईआईबीको उपसभापतिमा निर्वाचित गरेको थियो। क्षेत्रीय सदस्य राष्ट्रहरूमध्येबाट नेपाललाई उपसभापतिमा निर्वाचित गरिएको हो।

बैठकअन्तर्गत ‘गभर्नर्स बिजनेस राउन्डटेबल’ मा बोल्दै मन्त्री वाग्लेले पूर्वाधारमार्फत पुँजी निर्माण कम विकसित मुलुकको आर्थिक वृद्धिको प्रमुख आधार रहेको बताएका थिए। उनले सडक, विद्युत्, सञ्चार तथा सूचना प्रविधिलगायत उत्पादनका प्रमुख साधनमा लगानी बढाउनुपर्नेमा जोड दिएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

नेपालजस्ता मुलुकको आवश्यकतासँग मेल खाने गरी एआईआईबीको लगानीलाई अधिकतम सहुलियतपूर्ण बनाउने उपाय खोज्नुपर्ने तथा स्वदेशी र विदेशी निजी पुँजी आकर्षित गर्ने गरी वित्तीय स्रोत उपलब्ध गराउनुपर्ने धारणा पनि उनले राखेका थिए।

भ्रमणका क्रममा मन्त्री वाग्लेले एआईआईबीका अध्यक्ष तथा कतार, भारत, बंगलादेश, आर्मेनिया र जर्जियाका अर्थमन्त्रीसँग द्विपक्षीय हित, आर्थिक सहकार्य, लगानी विस्तार तथा नेपालले भोगेको प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणमा सहयोगबारे छलफल गरेका थिए।

नेपाल पहिलोपटक एआईआईबीको उपसभापतिमा निर्वाचित भएसँगै महत्वपूर्ण पूर्वाधार विकासका लागि बैंकको लगानी विस्तार, प्रविधि हस्तान्तरण तथा सदस्य राष्ट्रबीच सहकार्य थप बढ्ने अपेक्षा गरिएको छ।

प्रतिकृया