कृष्णभिरमा ग्याबियन वाल भासियो, नयाँ ट्र्याकसमेत जोखिममा
प्रकाशित मिति
२०८३ आश्विन ९ गते, शुक्रबार १२:१५
९ असोज २०८३ काठमाडौं — धादिङको पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा सडक सुरक्षाका लागि बनाइएको ग्याबियन वाल भासिएको छ । अविरल वर्षाका कारण पुरानो सडकको ग्याबियन वाल केही तल खसेपछि नयाँ ट्र्याकसमेत जोखिममा परेको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहालले बताएका छन् ।
उनका अनुसार नयाँ ट्र्याक खोलिएको स्थानभन्दा केही तल रहेको पुरानो सडकको ग्याबियन वाल भासिएको हो । यसको असर नयाँ ट्र्याकमा पर्न सक्ने प्राविधिकहरूले बताएका छन् ।
सडक विभागले पनि कृष्णभिरमा सडकको नदीतर्फको ग्याबियन वाल केही तल झरेको जनाएको छ । तर, हाल सञ्चालनमा रहेको सडक माथिको स्लोपमा भने कुनै समस्या नदेखिएको विभागको भनाइ छ । सडकको अवस्था प्रोजेक्ट टिमले निरन्तर निगरानी गरिरहेको जनाएको छ ।
बेनीघाट रोराङ गाउँपालिका–७ का वडाध्यक्ष कुमार बस्नेतका अनुसार नयाँ ट्र्याकलाई सपोर्ट गर्न बनाइएको ग्याबियन वाल नै भासिएको हो । उनले तल्लो भाग खसेकाले जोखिम बढेको भन्दै उक्त सडकबाट यात्रा नगर्न आग्रह गरेका छन् ।
गत भदौ १० र १४ गते भोटेकोशी तथा त्रिशूलीमा आएको बाढीले कृष्णभिरमा सडक कटान गरेपछि पृथ्वी राजमार्ग लामो समय अवरुद्ध भएको थियो । सडक कटान भएको स्थानमा नयाँ ट्र्याक निर्माण गरी असोज १ गतेदेखि राजमार्ग सञ्चालनमा ल्याइएको थियो ।







प्रतिकृया