भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको केन्द्र बनाउने मुख्यमन्त्री थापाको योजना
प्रकाशित मिति
२०८३ आश्विन ८ गते, बिहीबार १०:३९
८ असोज २०८३ काठमाडौं — बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको केन्द्रका रूपमा विकास गर्ने बताएका छन्। भक्तपुरको बागमती क्लबले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा उनले यस्तो योजना सुनाएका हुन्।
मुख्यमन्त्री थापाले भक्तपुरवासीलाई उपचारका लागि काठमाडौं वा धुलिखेल जानुपर्ने अवस्था अन्त्य गर्न स्थानीय सरकारी तथा निजी अस्पतालसँग समन्वय गरी विशेषज्ञ सेवा विस्तार गर्ने बताए। उनले आगामी दुई–तीन महिनाभित्र अस्पतालहरूसँग समन्वय गरेर प्रत्येक अस्पतालमा विशेषज्ञ सेवा सञ्चालन गर्ने योजना रहेको जानकारी दिए।
उनले भक्तपुरमा सबै तहको अध्ययन गर्न सकिने वातावरण बनाउने पनि बताए। पर्यटनतर्फ भक्तपुर, चाँगुनारायण, नगरकोट, रानीकोट, सूर्यविनायक र मध्यपुरथिमिलगायत क्षेत्रलाई जोडेर पर्यटकीय गतिविधि विस्तार गर्ने योजना रहेको उनको भनाइ छ।
युवालाई लक्षित गरी टुरिस्ट गाइड तालिम सञ्चालन गरेर रोजगारीका अवसर बढाउने र भक्तपुरलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने उनले बताए।






प्रतिकृया