महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
प्रकाशित मिति
२०८३ आश्विन १ गते, बिहीबार ०४:१४
१ असोज २०८३ काठमाडौं — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले असोज १६ गतेदेखि हुने पार्टीको १५औँ महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन पूर्वसभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्। बिहीबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले महाधिवेशनका दिन पूर्वसभापति देउवाले उद्घाटन गरिदिँदा आफूहरूका लागि सम्मानको विषय हुने बताएका हुन्।
थापाले पार्टी विधानले अब देउवालाई सभापति बन्न नदिने उल्लेख गर्दै महाधिवेशनमा सहभागी हुन आग्रह गरेका छन्। यस्तै, पार्टीभित्र हुने तिखा टिप्पणीलाई व्यक्तिगत रूपमा नलिन पनि थापाले आग्रह गरेका छन्। आफूले कसैप्रति तिखो टिप्पणी गरेको हुनसक्ने र अरूले पनि आफूविरुद्ध टिप्पणी गरेको हुनसक्ने भन्दै त्यसलाई व्यक्तिगत रूपमा नलिने उनले बताएका हुन्।
उनले नेपाली कांग्रेसलाई दाइभाइको सम्बन्धमा आधारित पार्टीका रूपमा लिन र एउटै परिवारका रूपमा अघि बढ्नुपर्ने धारणा राखे। पार्टीभित्रका मतभेद तथा असमझदारीलाई संवाद र सहकार्यबाट समाधान गर्नुपर्नेमा पनि उनले जोड दिए।
कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका छ। त्यसअघि असोज ३ र ४ गते वडा तहबाट अधिवेशन प्रक्रिया सुरु हुने तय गरिएको छ।






प्रतिकृया