आज विश्वकर्मा पूजा, सवारीसाधनदेखि औजारसम्मको पूजा गरिँदै
प्रकाशित मिति
२०८३ आश्विन १ गते, बिहीबार ०९:२०
१ असोज २०८३ काठमाडौं — आज विश्वकर्मा पूजा मनाइँदैछ। हरेक वर्ष आश्विन सङ्क्रान्तिका दिन सवारीसाधन, कलकारखानामा प्रयोग हुने धातुजन्य उपकरण तथा विभिन्न औजारको पूजा गरी विश्वकर्मा पूजा मनाउने परम्परा रहेको छ। विश्वकर्मा पूजाका अवसरमा कालिगढ तथा श्रमिकहरूले फलामे औजार, मेसिन तथा कलकारखानामा प्रयोग हुने उपकरणको पूजाआजा गरिरहेका छन्। यस्तै, यातायातका साधनको समेत विशेष पूजा गर्ने चलन रहेको छ।
धार्मिक मान्यताअनुसार आजका दिन काममा प्रयोग हुने औजार तथा उपकरणको पूजा गरेमा ती सामान लामो समयसम्म टिक्ने, कामका क्रममा नबिग्रने र राम्रो काम गर्न सकिने विश्वास छ। विश्वकर्मा बाबालाई हस्तकला, शिल्पकला तथा निर्माण र प्रविधिका प्रेरणाका रूपमा पूजा गर्ने गरिन्छ। यस दिन विश्वकर्माको मूर्ति स्थापना गरी पूजाआजा गर्ने र भोलिपल्ट नदी, ताल तथा अन्य जलाशयमा मूर्ति विसर्जन गर्ने परम्परा छ।
काठमाडौं उपत्यकामा विश्वकर्माको मूर्ति बागमतीको मुहानस्थल सुन्दरीजललगायत विभिन्न स्थानमा लगेर विसर्जन गर्ने गरिन्छ।
असोज १ गते पर्ने कन्या सङ्क्रान्तिलाई निर्माण, प्रविधि तथा उत्पादनसँग सम्बन्धित काम गर्नेहरूले विशेष महत्वका साथ विश्वकर्मा पूजाका रूपमा मनाउने गरेका छन्। वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले विश्वकर्मा बाबाको सम्मानमा आज विभिन्न पूजाआजा गर्ने गर्दछन्।






प्रतिकृया