• ३१ भदौ २०८३, बुधबार
  • ५ः०७ बेलुका

डिजिटल भुक्तानीमा बढ्दो आकर्षण, मोबाइल बैंकिङबाट मात्रै ६६ खर्बभन्दा बढी कारोबार

प्रकाशित मिति

२०८३ भाद्र ३१ गते, बुधबार ०५:०६

३१ भदौ २०८३ काठमाडौं — नेपालमा नगदको विकल्पका रूपमा डिजिटल भुक्तानी प्रणालीको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ। ठूला डिपार्टमेन्ट स्टोरदेखि ग्रामीण क्षेत्रका साना पसलसम्म क्युआर स्क्यान गरेर भुक्तानी गर्ने चलन बढेसँगै डिजिटल माध्यमबाट हुने कारोबारमा उल्लेख्य वृद्धि भएको हो।

National Life

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणअनुसार कनेक्ट आइपिएस, इन्टरनेट बैंकिङ, वालेट, क्युआर कोड, मोबाइल बैंकिङ तथा फास्टर पेमेन्टलगायतका डिजिटल माध्यमको प्रयोग व्यापक बनेको छ। यीमध्ये मोबाइल बैंकिङ सबैभन्दा बढी कारोबार हुने माध्यम बनेको छ। आर्थिक वर्ष २०८२/८३ मा मोबाइल बैंकिङमार्फत ६६ खर्ब ३६ अर्ब ८४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यस्तो कारोबार ५० खर्ब १८ अर्ब ३३ करोड रुपैयाँ रहेकोमा एक वर्षमा करिब २५ प्रतिशतले वृद्धि भएको हो।

त्यस्तै, क्युआरमार्फत हुने भुक्तानी ४० प्रतिशतले बढेर १५ खर्ब ९६ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष क्युआरमार्फत ९ खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। डिजिटल वालेटमार्फत हुने कारोबार पनि करिब १४ प्रतिशतले बढेर ५ खर्ब ८८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा वालेटमार्फत ५ खर्ब ६ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

यसैगरी, पछिल्लो एक वर्षमा इन्टरनेट बैंकिङमार्फत हुने कारोबार १६ प्रतिशतले बढेर २ खर्ब ७८ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ। फास्टर पेमेन्टमार्फतको कारोबार १७ प्रतिशतले बढेर ६३ खर्ब ६२ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ भने कनेक्ट आइपिएसमार्फतको कारोबार १६ प्रतिशतले बढेर ३४ खर्ब ६५ अर्ब ४ करोड रुपैयाँ पुगेको छ।

डिजिटल भुक्तानी प्रणालीमार्फत विद्युत्, खानेपानी, बीमा प्रिमियम, दूरसञ्चार, सामाजिक सुरक्षा भत्तालगायतका सेवाको रकम भुक्तानी गर्न सकिन्छ। त्यस्तै, विद्यालय तथा कलेज, स्वास्थ्य संस्था, हवाई सेवा, यातायात, होटल तथा रेष्टुरेन्टलगायतका सेवा र धितोपत्र कारोबारसम्बन्धी भुक्तानीमा समेत डिजिटल माध्यमको प्रयोग हुँदै आएको छ।

बैंक तथा वित्तीय संस्थाहरूले डिजिटल कारोबारलाई प्राथमिकता दिँदै सेवा विस्तार गरिरहेका कारण पछिल्लो समय नगदभन्दा डिजिटल माध्यमबाट भुक्तानी गर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ।

प्रतिकृया