रास्वपा महामन्त्री आचार्यले भने:भदौ २४ को आन्दोलन विध्वंस थियो
प्रकाशित मिति
२०८३ भाद्र २५ गते, बिहीबार ०२:४१
२५ भदौ २०८३ काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यले २४ भदौ २०८२ मा भएको आन्दोलनलाई ‘विध्वंस’को संज्ञा दिएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले भदौ २४ को घटनामा निजी तथा सार्वजनिक सम्पत्तिमा भएको क्षतिको पुनर्निर्माणको अवस्थामाथि प्रश्न उठाएका हुन्।
आचार्यले आफू घरबाट महाराजगञ्ज र नक्सालको भाटभटेनी हुँदै संसद् आउने गरेको उल्लेख गर्दै भदौ २४ को घटनापछि निजी क्षेत्रले गरेको पुनर्निर्माणको प्रशंसा गरे। ‘भदौ २४ को विध्वंसले खरानी बनेका व्यापारिक केन्द्रहरू आज थप बलियो र संरचनात्मक तरिकाले उठिसकेका छन्। निजी क्षेत्रको त्यो ऊर्जा देखेर मलाई गर्व लाग्छ,’ उनले भने।
तर, सिंहदरबार र गृह मन्त्रालयमा भएको क्षतिको पुनर्निर्माण अझै सुस्त रहेको भन्दै उनले सरकारको आलोचना गरे। ‘जब म सिंहदरबारको गेटबाट भित्र छिर्छु, जलेको सिंहदरबार र गृह मन्त्रालय अझै उस्तै बेवारिसे देख्छु। यो पालाको बजेट नै नयाँ संसद् भवनमा हुने भनेकोमा आज पनि यो अस्थायी भवनबाट आफ्ना कुरा राखिराखेको छु,’ आचार्यले भने।
राज्यको मुटु मानिने सिंहदरबार र सार्वभौम संसद्को पुनर्निर्माणको गति नै सुस्त हुँदा रसुवा र नुवाकोटका नागरिकले पुनर्निर्माण सही दिशामा हुन्छ भनेर कसरी विश्वास गर्ने भन्ने प्रश्नसमेत उनले उठाए।
गत वर्ष भदौ २४ मा भएको तोडफोड र आगजनीमा नक्सालस्थित भाटभटेनीसमेत परेको थियो। हाल उक्त संरचना पुनर्निर्माण भइसकेको उल्लेख गर्दै आचार्यले निजी क्षेत्रले क्षतिपछि देखाएको सक्रियतालाई सकारात्मक उदाहरणका रूपमा प्रस्तुत गरे।
साथै, सरकारी तथा सार्वजनिक सम्पत्तिमा भएको क्षतिको पुनर्निर्माण अझै पूरा हुन नसकेको भन्दै उनले सरकारसँग जवाफ मागे।






प्रतिकृया