२५ सय रुपैयाँ नभएपछि अस्पताल बाहिरै बच्चा जन्माउन बाध्य, संसदमा उठ्यो विषय
प्रकाशित मिति
२०८३ भाद्र २५ गते, बिहीबार ०२:३४
२५ भदौ २०८३ काठमाडौं — पैसाको अभावमा अस्पताल परिसर बाहिरै सुत्केरी महिलाले बच्चा जन्माउनुपरेको दर्दनाक घटना प्रतिनिधिसभामा उठेको छ। प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र कर्णले सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भएको उक्त घटना उठाउँदै स्वास्थ्य उपचारका नाममा भइरहेको लापरबाहीप्रति सरकारको ध्यानाकर्षण गराएका हुन्।
कर्णका अनुसार सप्तरीका हरेराम पासवानकी श्रीमती बबिता पासवान सुत्केरी व्यथाले च्यापेपछि गजेन्द्रनारायण सिंह अस्पताल पुगेकी थिइन्। अस्पताल प्रशासनले ३ हजार २ सय रुपैयाँको बिल तिर्नुपर्ने बताए पनि उनीहरूसँग २ हजार ५ सय रुपैयाँ मात्रै थियो।
आवश्यक रकम अभाव भएपछि उपचारमा आनाकानी गरिएको र अन्ततः ती महिलाले अस्पताल परिसर बाहिरै बच्चा जन्माउन बाध्य हुनुपरेको कर्णले संसदमा बताएका हुन्। अस्पतालजस्तो संवेदनशील ठाउँमा सुत्केरी महिलाले उपचार नपाएर बाहिरै बच्चा जन्माउनुपर्ने अवस्था सिङ्गो स्वास्थ्य प्रणालीकै लागि लज्जाको विषय भएको उनले बताए।
‘गजेन्द्रनारायण सिंह अस्पताल सप्तरीका गरिब, विपन्न र असहाय नागरिकका लागि स्वास्थ्य उपचारको भरोसाको केन्द्र हो। तर, त्यही अस्पतालमा पैसाको अभावमा एक गर्भवती महिलालाई अस्पतालको गेटबाहिर सडकमै शिशु जन्माउन बाध्य बनाइयो। यो हाम्रो स्वास्थ्य प्रणालीको दयनीय अवस्था हो,’ कर्णले भने।
उनले गरिब, पीडित तथा दलित महिलाको स्वास्थ्य अवस्थाप्रति सरकार गम्भीर हुनुपर्ने बताए। साथै, घटनाको सत्यतथ्य छानबिन गरी संसदमा यथार्थ विवरण पेस गर्न र दोषीमाथि कारबाही गर्न सम्बन्धित मन्त्रीसँग माग गरे।
उपचारका लागि आवश्यक रकम नहुँदा नागरिकले अस्पतालबाहिरै बच्चा जन्माउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने उनको माग छ।






प्रतिकृया