• २२ भदौ २०८३, सोमबार
  • ३ः०३ दिउँसो

‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार

प्रकाशित मिति

२०८३ भाद्र २२ गते, सोमबार ०२:१०

२२ भदौ २०८३ काठमाडौं — भोटेकोशी बाढीपछि सेनाको जस्तो युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धार तथा राहतमा सक्रिय रहेको ‘ग्रीन आर्मी’ विवादमा परेपछि गृह मन्त्रालयले संस्थाको नाम सच्याउन कम्पनी रजिष्ट्रार कार्यालयमा पत्राचार गरेको छ। तर, बाहिर चर्चा भएजस्तो ‘ग्रीन आर्मी’ संस्था खारेज भने नभएको स्पष्ट भएको छ।

National Life

कम्पनी रजिष्ट्रार कृष्णकुमारी श्रेष्ठका अनुसार गृह मन्त्रालयबाट संस्थाको नाममा देखिएको त्रुटि सच्याउन पत्र आएको हो। उनले संस्था खारेजीको समाचारप्रति आफू आश्चर्यमा परेको बताइन्। संस्था खारेज गर्न सम्बन्धित संस्थाले नै खारेजीको माग गर्दै निवेदन दिनुपर्ने कानुनी व्यवस्था रहेको उनले स्पष्ट पारिन्। उनका अनुसार संस्था निरन्तर अपडेट भएको देखिएकाले तत्काल गर्न सकिने प्रक्रिया नाम परिवर्तनको मात्र हो।

कम्पनी दर्ता ऐनको दफा ६ तथा निर्देशिकाको दफा २०, २१ र २२ अनुसार नाम परिवर्तनको प्रक्रिया अघि बढाइने भएको छ। उक्त प्रक्रिया सुरु भएको मितिले ३५ दिनभित्र नाम परिवर्तन गरिसक्नुपर्ने व्यवस्था रहेको श्रेष्ठले बताइन्। गृह मन्त्रालयले संस्था दर्ताका लागि दिएको स्वीकृति भने रद्द गर्न सक्ने व्यवस्था रहेको उनको भनाइ छ।

Classic Tech Desktop

यसैबीच, ‘ग्रीन आर्मी’का संस्थापक प्रमुख सविन शर्माले संस्था खारेज भएको भन्ने हल्ला भ्रामक भएको बताएका छन्। विज्ञप्ति जारी गर्दै उनले संस्थाको स्थापना तथा सञ्चालनसम्बन्धी विषयमा विभिन्न समयमा सार्वजनिक भएका भ्रमपूर्ण सामग्रीप्रति संस्था सचेत रहेको उल्लेख गरेका छन्।

शर्माका अनुसार ‘ग्रीन आर्मी’ले आफ्नो उद्देश्यअनुसार वातावरण संरक्षण, विपद् व्यवस्थापन, उद्धार तथा राहत सहयोगलगायतका कार्यक्रमहरू प्रचलित कानुन र प्रक्रियाअनुसार निरन्तर सञ्चालन गर्दै आएको छ।

प्रतिकृया