रसुवा बाढीको क्षति र पुनर्स्थापनाबारे छलफल गर्न फेरि सर्वदलीय बैठक बस्दै
प्रकाशित मिति
२०८३ भाद्र १६ गते, मंगलवार ०९:४६
१६ भदौ २०८३ काठमाडौं — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षति, उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा छलफल गर्न फेरि सर्वदलीय बैठक बस्ने भएको छ। मंगलबार (भदौ १६ गते) दिउँसो २ बजे बस्ने गरी सर्वदलीय बैठक आह्वान गरिएको हो। बैठक सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको कार्यालयमा बस्नेछ।
रास्वपाका प्रवक्ता एवं सांसद जगदीश खरेलका अनुसार बैठकमा बाढीपछिको खोजी तथा उद्धार कार्य, राहत वितरण, पुनर्स्थापना तथा विपद् व्यवस्थापनका आगामी कदमबारे छलफल हुनेछ।

यसअघि बाढी आएको भोलिपल्ट अर्थात् भदौ ११ गते पनि रास्वपा सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बसेको थियो। उक्त बैठकले विपद्को दिगो समाधान र पूर्वतयारीका सम्बन्धमा १० बुँदे साझा संकल्प पारित गरेको थियो।

बैठकबाट विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा समयानुकूल सुधार तथा सरकारका कामकारबाहीलाई निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न उच्चस्तरीय सर्वदलीय संसदीय संयन्त्र गठन गर्ने सहमति पनि भएको थियो।
सोही सहमति र प्रक्रियालाई अगाडि बढाउने विषयमा छलफल गर्न मंगलबार पुनः सर्वदलीय बैठक आयोजना गरिएको खरेलले जानकारी दिएका छन्।




प्रतिकृया