रसुवा बाढी प्रभावित जलविद्युत् आयोजनाको अवस्थाबारे रियल टाइम अपडेट सिस्टम बनाउँदै ऊर्जा मन्त्रालय
प्रकाशित मिति
२०८३ भाद्र १५ गते, सोमबार ०९:२५
१५ भदौ २०८३ काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका जलविद्युत् आयोजनामा भइरहेको खोज तथा उद्धार, राहत तथा पुनर्निर्माणको अवस्थाबारे तत्काल जानकारी प्राप्त गर्न रियल टाइम अपडेट सिस्टम निर्माण थालेको छ।
ऊर्जामन्त्री विराज भक्त श्रेष्ठले आइतबार उच्चस्तरीय व्यवस्थापन संयन्त्र (एसएमटी) को बैठकमा प्रभावित आयोजनाको अवस्थाबारे वास्तविक समयमै जानकारी प्राप्त हुने सूचना प्रणाली विकास गर्न निर्देशन दिएका हुन्।

हालसम्म राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गर्दै आएको मन्त्रालयले अब आफ्नै सूचना प्रणालीमार्फत प्रभावित जलविद्युत् आयोजना तथा साइटमा भइरहेको गतिविधिको प्रत्यक्ष विवरण अभिलेख र अनुगमन गर्ने तयारी गरेको छ।

मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार प्रभावित १६ जलविद्युत् आयोजनामा सुरुङभित्र तथा बाहिर रहेका श्रमिक र कर्मचारीको अवस्था, उद्धारको प्रगति, सामग्री परिचालन, विभिन्न निकायबीचको समन्वय तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञको सहभागितासम्बन्धी विवरण प्रणालीमार्फत अद्यावधिक गरिनेछ।
उनका अनुसार कुन आयोजनामा कति व्यक्ति फसेका छन्, सुरुङभित्र र बाहिर कति छन्, कहाँ उद्धार अभियान सञ्चालन भइरहेको छ र कति जनाको उद्धार भयो भन्ने विवरण रियल टाइममा प्राप्त हुने व्यवस्था गरिनेछ।
त्यस्तै, उद्धारका लागि आवश्यक सामग्री कहाँ पुगेको छ, सामग्री परिचालनको अवस्था कस्तो छ र सम्बन्धित निकायसँग भइरहेको समन्वयको अवस्थासमेत प्रणालीमा समेटिने मन्त्रालयले जनाएको छ।
बाढी आएको पहिलो दिनदेखि पाँचौँ तथा छैटौँ दिनसम्म भएका खोज, उद्धार तथा अन्य गतिविधिको समयसहित अभिलेख राख्ने कामसमेत भइरहेको छ।
मन्त्रालयका अनुसार बाढीबाट ४०० मेगावाटभन्दा बढी विद्युत् उत्पादन क्षमता प्रभावित भएको छ, जुन कुल विद्युत् आपूर्तिको करिब १० प्रतिशत हो। प्रभावित विद्युत् संरचनाको पुनर्निर्माण तथा विद्युत् आपूर्ति प्रणालीलाई सामान्य अवस्थामा फर्काउन उच्चस्तरीय व्यवस्थापन संयन्त्रमार्फत काम अघि बढाइएको मन्त्रालयले जनाएको छ।




प्रतिकृया