रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७८१ पुग्यो, २ हजार ५ सयभन्दा बढी अझै सम्पर्कविहीन
प्रकाशित मिति
२०८३ भाद्र १५ गते, सोमबार ०८:०५
१५ भदौ २०८३ धादिङ — भदौ १० गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ७ सय ८१ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १ सय ९९, नवलपरासी पश्चिममा १ सय, तनहुँमा ३७ र चितवनमा २ सय ७२ जनाको शव तथा मानव अंग फेला परेको छ। बाढीपछि सम्पर्कविहीन हुनेको संख्या २ हजार ५ सय २ पुगेको प्राधिकरणले जनाएको छ।
सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका चार कर्मचारी रहेका छन्। विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ९ सय ३३ जना, विदेशी नागरिक ५ सय ९२ जना तथा विदेशी पर्यटकसँगै घुम्न गएका १ सय २७ नेपाली पनि सम्पर्कविहीन छन्।

त्यस्तै, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन कर्मचारी र क्वारेन्टाइन कार्यालयका तीन कर्मचारी पनि सम्पर्कविहीन रहेको जनाइएको छ। रसुवाका ५ सय ६२, नुवाकोटका १ सय १५ र मकवानपुरका ६५ जना पनि अझै सम्पर्कविहीन छन्।

प्राधिकरणका अनुसार हालसम्म बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार गरिएको छ। विभिन्न जलविद्युत् आयोजनाका सुरुङबाट मात्रै २ सय ७९ जनाको उद्धार गरिएको छ। नेपाली सेनाले हवाईमार्फत २ सय ५४ विदेशी नागरिक र ३ हजार ६७ नेपालीको उद्धार गरेको जनाएको छ। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि २० हजार ६ सय १८ सुरक्षाकर्मी परिचालन गरिएको छ। खोज तथा उद्धारमा नेपाल प्रहरीका ७ हजार ८ सय ९४, नेपाली सेनाका ८ हजार ५ सय २१ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना खटिएका छन्।




प्रतिकृया