नापी कार्यालयका सर्भेक्षकविरुद्ध ३ करोड ७१ लाखको भ्रष्टाचार मुद्दा
प्रकाशित मिति
२०८३ भाद्र १२ गते, शुक्रबार ०७:४०
१२ भदौ २०८३ काठमाडौं – नापी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा सर्भेक्षक पदमा कार्यरत विन्देश्वर साह सुडीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ करोड ७१ लाख रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। अख्तियारका अनुसार साहले २०४६ साल माघ १६ गते अमिन पदमा अस्थायी नियुक्ति लिएदेखि २०८१ जेठ ३२ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी अनुसन्धान गरिएको थियो।
अनुसन्धानका क्रममा साह र उनका एकाघर/सगोलका परिवारका सदस्यको कुल वैधानिक आय ६ करोड ३ लाख ८५ हजार ३० रुपैयाँ १५ पैसा रहेको पाइएको छ। तर सोही अवधिमा जग्गा तथा शेयर खरिद, सवारीसाधन खरिद, बीमा प्रिमियम, अध्ययन खर्च, ऋण भुक्तानी, बैंक मौज्दात तथा ऋण–सापटी लगानीलगायत शीर्षकमा ९ करोड ७५ लाख ६९ हजार ५८१ रुपैयाँ ९५ पैसा खर्च तथा लगानी गरेको देखिएको अख्तियारले जनाएको छ।

वैधानिक आयको तुलनामा खर्च तथा लगानी ३ करोड ७१ लाख ८४ हजार ५५१ रुपैयाँ ८० पैसा बढी देखिएपछि उक्त रकमको स्रोत पुष्टि हुन नसकेको अख्तियारको निष्कर्ष छ। अख्तियारले साहले सार्वजनिक पदमा रहँदा पदको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको र उक्त सम्पत्तिको केही हिस्सा श्रीमती सुमिन्त्रा देवी साहको नाममा समेत राखेको दाबी गरेको छ।

अख्तियारले साहविरुद्ध ३ करोड ७१ लाख ८४ हजार ५५१ रुपैयाँ ८० पैसा बिगो कायम गरी बिगोअनुसार कैद, बिगोबमोजिम जरिवाना तथा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न मागदाबी गरेको छ। साथै, वास्तविक सम्पत्ति विवरण नखुलाई लुकाइछिपाई झुट्टा विवरण पेस गरेको आरोपमा थप सजायको मागदाबी गरिएको छ।
त्यस्तै, साहकी श्रीमती सुमिन्त्रा देवी साहलाई भने स्रोत नखुलेको सम्पत्तिबाट आफ्नो नाममा खरिद तथा लगानी गरिएका सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको अख्तियारले जनाएको छ।




प्रतिकृया