• १ भदौ २०८३, मंगलबार
  • ५:३५ बेलुका

मन्त्रीले हेलिकप्टर प्रयोग गरेको विषय संसद्मा विवाद, पक्ष–विपक्षमा सांसदको जुहारी

प्रकाशित मिति

२०८३ भाद्र २ गते, मंगलवार ०१:२४

पूर्वाधारमन्त्री सुनील लम्सालले स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टर प्रयोग गरेर काठमाडौं फर्किएको विषयलाई लिएर प्रतिनिधिसभामा सांसदहरूबीच पक्ष–विपक्षमा जुहारी चलेको छ। मन्त्री लम्सालको हेलिकप्टर प्रयोगबारे सोमबारदेखि नै प्रश्न उठ्दै आएकोमा मंगलबार पनि सांसदहरूले यही विषयमा समर्थन र विरोधमा धारणा राखेका छन्।

नेपाली कांग्रेसकी सचेतक बासना थापाले मन्त्रीलाई हेलिकप्टरबाट काठमाडौं ल्याउन लाखौं रुपैयाँ खर्च गर्न सक्ने सरकारले सर्वसाधारणलाई राहत दिन नसकेको भन्दै प्रश्न उठाइन्। उनले जनताले सिटामोलसमेत नपाउने, सुत्केरीलाई अस्पताल लैजान सवारी साधन नपाउने अवस्था रहेको बताइन्।

Kamana Sewa

‘काठमाडौंको मिनरल वाटर र जारको पानीमा हुर्किएका मन्त्री कर्णाली पुग्दा पानी र खानपान पचाउन नसकेपछि लाखौं खर्च गरेर हेलिकप्टरमा काठमाडौं ल्याइन्छ,’ उनले भनिन्, ‘मन्त्री काठमाडौं ल्याउन ३०/३५ लाख खर्च गर्न सक्ने सरकारले ३ लाख खर्च गरेर जनतालाई राहत पुर्‍याउन सक्दैन?’

Classic Tech Desktop

बैतडी पुगेका मन्त्री लम्साललाई स्वास्थ्यमा समस्या भएपछि हेलिकप्टरमार्फत धनगढी लगिएको थियो। त्यसपछि सेनाको स्काई ट्रकमार्फत धनगढीबाट काठमाडौं ल्याइएको थियो। उनी अहिले उपचारपछि डिस्चार्ज भइसकेका छन्। रास्वपाकी सचेतक थापाले मन्त्रीको जीवन जति मूल्यवान छ, कर्णालीका नागरिकको जीवन पनि उत्तिकै मूल्यवान रहेको बताइन्। ‘मन्त्रीका लागि हेलिकप्टर पुग्ने तर बिरामी नागरिकका लागि एम्बुलेन्स नपुग्ने के यही समानता हो? के यही हो जनताको सरकार?’ उनले प्रश्न गरिन्।

उनले सरकारले एकातिर एक्सप्रेस वेको कुरा गरिरहेको र अर्कोतिर कर्णालीमा औषधिसमेत नपुग्ने अवस्था रहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। त्यसपछि रास्वपाका सांसद भरतप्रसाद पराजुलीले भने मन्त्री लम्सालको हेलिकप्टर प्रयोगको बचाउ गरे। उनले लम्सालले पूर्वदेखि पश्चिमसम्म आफैं गाडी चलाएर वर्षाको समयमा दुर्गम क्षेत्रमा पुगेर सडक तथा पूर्वाधारको अवस्था निरीक्षण गरिरहेको बताए।

‘कुनै रिबन काट्न होइन, देशका दुरदराजमा पुगेर कनेक्टिभिटीका समस्या र जनताको अवस्था बुझ्न जानुभएको हो,’ उनले भने। सांसद पराजुलीले आलोचनाका लागि आलोचना गर्ने प्रवृत्ति त्यागेर राम्रो काममा समर्थन र नकारात्मक काममा आलोचना गर्ने संस्कृतिको विकास गर्न आग्रह गरे।

यसअघि सोमबार रास्वपाकै सांसद पारसमणि गेलालले पनि मन्त्रीहरूलाई मन्त्रालयको काम छाडेर अनावश्यक रूपमा देश घुम्न ननिस्कन आग्रह गरेका थिए। उनले मन्त्रीहरूलाई नीति निर्माण र निर्णय प्रक्रियामा केन्द्रित हुन सुझाव दिँदै जनताले ग्यास, मल, सञ्चार, विद्युत् तथा आधारभूत स्वास्थ्य सेवाका लागि संघर्ष गरिरहेको अवस्थामा मन्त्रीको व्यवहार त्यसअनुसार हुनुपर्ने बताएका थिए।

‘मन्त्रीलाई सामान्य रुघा लाग्दा हेलिकप्टर उपलब्ध हुन्छ। तर जनता मर्न लाग्दा अस्पताल पुग्ने साधन हुँदैन,’ उनले भनेका थिए। मन्त्री लम्सालको हेलिकप्टर प्रयोगको विषयलाई लिएर मंगलबार पनि प्रतिनिधिसभामा सांसदहरूले आ–आफ्ना धारणा राखिरहेका छन्।

प्रतिकृया