कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा पाँच प्रतिवेदनमाथि छलफल
प्रकाशित मिति
२०८३ श्रावण ३० गते, शनिबार १०:४२
३० साउन २०८३ काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर समूहद्वारा आयोजित तीन दिने राष्ट्रिय भेलाको दोस्रो दिन आज विभिन्न विषयगत प्रतिवेदनमाथि छलफल सुरु भएको छ । काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी भेन्यूमा जारी बन्दसत्रमा पार्टीको पछिल्लो आन्तरिक राजनीतिक अवस्था, सांगठनिक संरचना तथा आगामी राजनीतिक रणनीतिबारे छलफल भइरहेको छ । भेलामा राजनीतिक, सांगठनिक, आर्थिक र विधान संशोधनसम्बन्धी प्रतिवेदन प्रस्तुत गरिएको छ ।
पूर्वउपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन, एनपी साउदले समसामयिक राजनीतिक प्रतिवेदन, डा. प्रकाशशरण महतले आर्थिक दृष्टिकोणसम्बन्धी प्रतिवेदन तथा उमाकान्त चौधरीले सांगठनिक प्रस्ताव प्रस्तुत गरेका छन् । त्यस्तै, रमेश लेखकले विधान संशोधनसम्बन्धी प्रस्ताव पेस गरेका छन् ।

प्रचारप्रसार समितिका संयोजक मीन विश्वकर्माका अनुसार प्रस्तुत प्रतिवेदनमाथि सहभागी नेता तथा कार्यकर्ताले समूहगत रूपमा छलफल गरी सुझाव दिनेछन् । भेलाको औपचारिक उद्घाटन शुक्रबार पूर्वसभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्य तथा पूर्वमहामन्त्री शशांक कोइरालाको अध्यक्षतामा गरिएको थियो ।

विशेष महाधिवेशन र त्यसपछिको आन्तरिक विवादबीच आयोजना गरिएको भेलालाई कांग्रेसको संस्थापन इतर पक्षले आफ्नो शक्ति र सांगठनिक उपस्थिति देखाउने अवसरका रूपमा लिएको छ । भेलाबाट प्राप्त सुझावलाई समेट्दै घोषणापत्र जारी गरिनेछ । तीन दिनसम्म चल्ने भेला आइतबार समापन हुने आयोजकले जनाएको छ ।




प्रतिकृया