• १६ असोज २०८३, शुक्रबार
  • ११ः२० बिहान

यी २० ठूला बहुराष्ट्रिय कम्पनीसँग अर्थमन्त्री वाग्लेको छलफल सुरु

प्रकाशित मिति

२०८३ श्रावण २५ गते, सोमबार ०१:५४

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल सुरु गरेका छन्।

National Life

आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन छलफल शृङ्खलाअन्तर्गत सोमबार दिउँसो अर्थ मन्त्रालयको सुवर्ण हलमा छलफल सुरु भएको हो। छलफलमा नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदार सहभागी छन्।

छलफलमा बजेटले उपलब्ध गराएका सुविधा, कम्पनीहरूले भोगिरहेका नीतिगत तथा प्रशासनिक समस्या, नेपालमा लगानी विस्तार, रोजगारी सिर्जना तथा लगानीको प्रतिफल फिर्ता लैजाँदा देखिएका समस्या र सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा छलफल हुने अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

छलफलका लागि एनसेल आजियाटा, आरती स्ट्राईप्स, गोर्खा ब्रुअरी, हिमालय एयरलाइन्स, होङ्शी शिवम् सिमेन्ट, डुसान इनरबिलिटी, डाबर नेपाल, बोटलर्स नेपाल (तराई), युनिलिभर नेपाल, एशियन पेन्ट्स नेपाल, पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना, गोर्खा लाहारी, ह्वासिन सिमेन्ट नारायणी, न्यू होप एग्रो बिजनेस नेपाल, नेपाल वेलहोप एग्रि–टेक, वरुण बेभरेज नेपाल, टर्किस एयरलाइन्स, भोटेकोशी पावर कम्पनी तथा बर्जर जेन्सन एन्ड निकोल्सन नेपाललाई आमन्त्रण गरिएको छ।

अर्थमन्त्री वाग्लेले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले निजी क्षेत्र तथा विभिन्न सरोकारवालासँग छलफल गर्दै आएका छन्। यसअघि उनले उत्पादनमूलक उद्योग सञ्चालन गरी रोजगारी सिर्जना गरेका ३३ औद्योगिक घरानाका प्रतिनिधि तथा ‘क’ वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग छलफल गरिसकेका छन्।

नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीले भोगिरहेका नीतिगत, प्रशासनिक तथा व्यावसायिक समस्या पहिचान गरी लगानी विस्तारका लागि आवश्यक सहजीकरण गर्ने उद्देश्यले छलफल आयोजना गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

प्रतिकृया