• २५ साउन २०८३, सोमबार
  • ४:०४ बेलुका

बालेन र रविबीच ४५ मिनेट भेटवार्ता, यी विषयमा भए छलफल

प्रकाशित मिति

२०८३ श्रावण २५ गते, सोमबार ०१:२९

२५ साउन २०८३ काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच बालुवाटारमा करिब ४५ मिनेट भेटवार्ता भएको छ। साउन २४ गते आइतबार साँझ भएको भेटलाई सरकार र रास्वपाबीच पछिल्लो समय बढेको भनिएको तिक्तताका बीच राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा पछिल्लो राजनीतिक परिस्थिति, सरकार सञ्चालन, पार्टीका पदाधिकारी तथा सदस्य मनोनयन र राजदूत नियुक्तिलगायत विषयमा छलफल भएको रविनिकट स्रोतले जनाएको छ।

Kamana Sewa

रास्वपाका सांसदहरूले आफ्नै सरकारको कार्यशैलीप्रति खबरदारी र आलोचना गर्न थालेपछि प्रधानमन्त्री बालेन असन्तुष्ट रहेको चर्चा भइरहेका बेला दुई नेताबीच भेट भएको हो। यसअघि बालेनले सामाजिक सञ्जालमार्फत आफूले केही चुनौती एक्लै सामना गर्नुपरेको आशय व्यक्त गरेका थिए।

Classic Tech Desktop

भेटमा सरकारले विभिन्न निकायमा गरेका नियुक्तिका विषयमा पनि गम्भीर छलफल भएको बताइएको छ। विवादित पृष्ठभूमि भएका व्यक्तिलाई नियुक्ति दिइएको तथा विगतमा पटक–पटक अवसर पाएका व्यक्तिलाई पुनः जिम्मेवारी दिइएको विषयमा समेत कुराकानी भएको स्रोतको दाबी छ।

त्यस्तै, रास्वपाका पदाधिकारी तथा सदस्य मनोनयनको विषयमा पनि छलफल भएको जनाइएको छ। सभापति रविले मनोनयन गर्ने उपसभापतिमा गृहमन्त्री सुधन गुरुङ वा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालमध्ये को रहने भन्ने विषय अझै टुंगिएको छैन।

स्रोतका अनुसार दुई नेताबीच आगामी दिनमा पार्टी र सरकारबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको छ। यद्यपि, भेटलाई कुनै विवाद वा असहज परिस्थितिको परिणामका रूपमा लिन नहुने स्रोतको भनाइ छ। दुई नेताबीच पार्टी र सरकार सञ्चालनका विषयमा नियमित रूपमा भेटघाट तथा छलफल हुने गरेको बताइएको छ।

प्रतिकृया