पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत काम थालेको छ : प्रधानमन्त्री बालेन्द्र शाह
प्रकाशित मिति
२०८३ असार ३१ गते, बुधबार ०३:३५
३१ असार २०८३ काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले द्रुत गतिमा काम अघि बढाएको बताएका छन्। उनले होटल व्यवसायीका चिन्ता क्रमशः अन्त्य हुने विश्वास व्यक्त गर्दै निजी क्षेत्रलाई राज्यको बलियो साझेदारका रूपमा अघि बढ्न आग्रह गरेका छन्।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा होटल एसोसिएसन नेपाल (हान) का पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले व्यवसायीलाई कानुनको पालना गर्दै आफ्नो दायित्व निर्वाह गर्न आग्रह गरे। उनले साना तथा मझौला होटललाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा सहकार्यका सम्भावना अध्ययन गर्न पनि सुझाव दिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको उपस्थितिमा भएको छलफलमा हानका पदाधिकारीले नेपालको होटल उद्योग वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन सक्षम रहेको जानकारी गराएका थिए। हाल वार्षिक करिब १२ लाख पर्यटक मात्रै भित्रिरहेको उल्लेख गर्दै उनीहरूले पर्यटक संख्या बढे रोजगारी सिर्जना हुने र युवाको वैदेशिक पलायन घटाउन होटल उद्योगले महत्वपूर्ण भूमिका खेल्ने बताए।

व्यवसायीहरूले नेपालमा आरोग्य पर्यटन, डेस्टिनेसन वेडिङ र क्रस–बोर्डर पर्यटनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै सरकारसमक्ष विभिन्न नीतिगत माग पनि राखेका छन्।
उनीहरूले होटल उद्योगलाई उत्पादनमूलक उद्योगसरह विद्युत् महसुलमा सहुलियत दिन, २५ शय्यासम्मको संक्षिप्त वातावरणीय मूल्यांकनको सीमा बढाएर ५० शय्यासम्म कायम गर्न, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सञ्चालन गर्न तथा नेपाल एयरलाइन्सको सेवा सुधार गर्न आग्रह गरेका छन्।
यसका साथै वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुनी व्यवस्था संशोधन, डेस्टिनेसन वेडिङका लागि गरगहना ल्याउने प्रक्रिया सहज बनाउने तथा आरोग्य पर्यटनको प्रभावकारी प्रवर्द्धन गर्न पनि हानले सरकारसँग माग गरेको छ।




प्रतिकृया