११ जिल्लामा फैलिएको बर्डफ्लु ७ जिल्लामा नियन्त्रण, काठमाडौं उपत्यकासहित ४ जिल्ला अझै निगरानीमा
प्रकाशित मिति
२०८३ असार २३ गते, मंगलवार ०४:००
२३ असार २०८३ काठमाडौं – देशका विभिन्न ११ जिल्लामा फैलिएको घातक पन्छीजन्य रोग ‘बर्डफ्लु’ सात जिल्लामा पूर्णरूपमा नियन्त्रणमा आएको छ। पशुसेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा संक्रमण नियन्त्रणमा आइसकेको छ।
यद्यपि काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा भने संक्रमण अझै पूर्णरूपमा नियन्त्रणमा आइनसकेको विभागले जनाएको छ। यी चार जिल्लामा रोगको अवस्थामाथि निरन्तर निगरानी राखिएको छ। रोग नियन्त्रणका लागि विभागले प्रभावित क्षेत्रमा विशेष प्राविधिक टोली परिचालन गरेको थियो। टोलीले संक्रमित पन्छी, अण्डा, दाना तथा पन्छीजन्य अन्य सामग्री नष्ट गरी सुरक्षित व्यवस्थापन गरेको विभागका प्रवक्ता डा. मुकुल उपाध्यायले जानकारी दिए।

संक्रमण थप फैलिन नदिन पशु क्वारेन्टाइन कार्यालयहरूले सीमा नाका तथा अन्य संवेदनशील क्षेत्रमा उच्च सतर्कता अपनाएका थिए। अवैध रूपमा ओसारपसार गरिएका पन्छीहरू बरामद गरी नष्ट गरिएको विभागले जनाएको छ।

हाल केही जिल्लामा अवस्था सामान्य बन्दै गएपछि पन्छीको ओसारपसारमा लगाइएको कडाइ केही खुकुलो बनाइएको छ। उच्च मृत्युदर भएको यस संक्रामक रोगलाई थप फैलिन नदिन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी जनशक्ति परिचालन गरिएको प्रवक्ता उपाध्यायले बताए।
विभागले पन्छीपालक किसानलाई जैविक सुरक्षामा विशेष ध्यान दिन तथा पन्छीमा शंकास्पद लक्षण देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ।




प्रतिकृया