• १९ असोज २०८३, सोमबार
  • ८ः०६ बिहान

इन्टरनेट समस्याले प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण अवरुद्ध

प्रकाशित मिति

२०८३ असार १८ गते, बिहीबार १२:२१

१८ असार २०८३ काठमाडौं – प्रतिनिधिसभाको बैठकका क्रममा इन्टरनेटमा समस्या आएपछि बैठकको प्रत्यक्ष प्रसारण प्रभावित भएको छ। इन्टरनेट सेवा अवरुद्ध हुँदा बैठक युट्युबमार्फत प्रत्यक्ष प्रसारण गर्न नसकिएको संसद् सचिवालयले जनाएको छ। चार दिनपछि बसेको प्रतिनिधिसभाको बैठकमा आज विभिन्न महत्त्वपूर्ण विधेयकमाथि छलफल र निर्णय गर्ने कार्यसूची रहेको छ। यसअघि प्रतिनिधिसभाको बैठक असार १४ गते बसेको थियो भने त्यसअघि असार ५ गते बैठक सम्पन्न भएको थियो।

National Life

आजको बैठकमा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्र सभामुखले सदनमा पढेर सुनाउने कार्यसूची रहेको छ। साथै, सरकारले जारी गरेका अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका चार वटा विधेयकमाथि दफावार छलफल र पारित गर्ने तयारी गरिएको छ।

कार्यसूचीअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफलको प्रस्ताव प्रस्तुत गर्नेछिन्। त्यसपछि विधेयकमाथि दर्ता भएका संशोधनमाथि निर्णय गर्दै पारित गर्ने प्रस्ताव पेश हुनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफल र पारितको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। त्यस्तै, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ माथि छलफल र पारितको प्रस्ताव प्रस्तुत गर्नेछिन्।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ माथि दफावार छलफल तथा पारितको प्रस्ताव सदनमा पेश गर्नेछिन्।

यी चारवटै विधेयक संसद् अधिवेशन नरहेका बेला सरकारले जारी गरेका अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका हुन्। प्रतिनिधिसभाबाट पारित भएपछि ती विधेयक राष्ट्रियसभामा पठाइनेछन्। राष्ट्रियसभाबाट पनि पारित भएपछि पुनः प्रतिनिधिसभामा फर्किने र सभामार्फत राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइनेछ। राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ती विधेयक ऐनका रूपमा कार्यान्वयनमा आउनेछन्।

प्रतिकृया