फिलिपिन्समा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १५ जनाको मृत्यु, १२९ घाइते
प्रकाशित मिति
२०८३ जेष्ठ २५ गते, सोमबार ०३:४१
काठमाडौं । फिलिपिन्समा गएको ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १२९ जना घाइते भएका छन्। बीबीसीका अनुसार फिलिपिन्सको नागरिक रक्षा कार्यालयले भूकम्पका कारण मृत्यु हुनेको संख्या १५ पुगेको पुष्टि गरेको छ। नागरिक रक्षा कार्यालयका निर्देशक रोड्रिगो सोस्मेनियाले मृतकमध्ये १२ जना सोक्सार्जेन क्षेत्रका रहेको जानकारी दिएका छन्।

शक्तिशाली भूकम्पका कारण दक्षिणी फिलिपिन्सका दुई दर्जनभन्दा बढी भवनमा क्षति पुगेको छ। क्षतिग्रस्त संरचनामध्ये अधिकांश व्यावसायिक भवन तथा प्रतिष्ठान रहेका जनाइएको छ।

भूकम्पपछि स्थानीय समयअनुसार बिहान ११ बजेसम्म १३८ वटा परकम्प रेकर्ड गरिएको छ। ती परकम्पको तीव्रता १.३ देखि ६.७ म्याग्निच्युडसम्म रहेको अधिकारीहरूले बताएका छन्।

नयाँ शैक्षिक सत्र सुरु भएकै दिन भूकम्प गएको कारण विद्यालयहरूमा त्रास फैलिएको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा जमिन तीव्र रूपमा हल्लिँदा विद्यार्थीहरू डरले चिच्याउँदै कक्षाकोठाबाट बाहिर निस्किएको देखिन्छ।
अधिकारीहरूले प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण तथा क्षतिको मूल्यांकन कार्य तीव्र रूपमा जारी रहेको बताएका छन्। भूकम्प प्रभावित क्षेत्रमा थप क्षति र मानवीय प्रभावको विवरण संकलन भइरहेको जनाइएको छ।




प्रतिकृया