परराष्ट्रमन्त्री शिशिर खनाल भोलिदेखि भारत भ्रमणमा
प्रकाशित मिति
२०८३ जेष्ठ २१ गते, बिहीबार ०४:५१
२१ जेठ २०८३ काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबारदेखि तीनदिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्ने भएका छन्। परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार भारतीय विदेशमन्त्री एस. जयशङ्कर को मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री खनाल जेठ २२ देखि २४ गतेसम्म भारत भ्रमणमा जान लागेका हुन्।

भ्रमणका क्रममा नयाँ दिल्लीमा परराष्ट्रमन्त्री खनाल र उनका भारतीय समकक्षी जयशङ्करबीच औपचारिक द्विपक्षीय वार्ता हुने कार्यक्रम रहेको छ। उक्त वार्तामा नेपाल र भारतबीचको आपसी हितका विविध विषयमा छलफल हुने जनाइएको छ।

विशेषगरी व्यापार, लगानी, ऊर्जा, यातायात तथा सम्पर्क सञ्जाल विस्तार, साथै दुई देशका नागरिकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत विचार–विमर्श हुने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको निरन्तरताका रूपमा हुन लागेको यस भ्रमणले नेपाल–भारतबीचको ऐतिहासिक, कूटनीतिक तथा बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ र सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।

निर्धारित कार्यक्रमअनुसार परराष्ट्रमन्त्री खनाल जेठ २४ गते स्वदेश फर्कनेछन्।




प्रतिकृया