सशस्त्र प्रहरी हेडक्वार्टरको आगलागी घटनामा छानबिन समिति गठन
प्रकाशित मिति
२०८३ जेष्ठ २१ गते, बिहीबार ०३:१९
२१ जेठ २०८३ काठमाडौं – सशस्त्र प्रहरी बलको हेडक्वार्टरस्थित एमटी शाखा (सवारी शाखा) मा भएको आगलागी घटनाको छानबिन गर्न समिति गठन गरिएको छ। सशस्त्र प्रहरी हेडक्वार्टरले सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) सन्दीप थापाको नेतृत्वमा छानबिन समिति गठन गरेको हो। सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी विष्णुप्रसाद भट्टका अनुसार समितिले घटनाबारे अनुसन्धान सुरु गरिसकेको छ।

‘घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ। सकेसम्म छिटो प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ,’ प्रवक्ता भट्टले बताए। समितिलाई भने कुनै निश्चित हदम्याद तोकिएको छैन।

बुधबार राति करिब ८ बजेतिर हेडक्वार्टर परिसरभित्र रहेको सवारी शाखामा आगलागी भएको थियो। आगलागीबाट केही सवारी साधनमा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

बंगलामुखी गणबाट खटिएको टोलीले आगो नियन्त्रणमा लिएको थियो। घटनाको कारण भने अझै खुल्न बाँकी छ।
यसअघि पनि सशस्त्र प्रहरी हेडक्वार्टर तथा सतंगलस्थित सशस्त्र प्रहरीको स्टोरमा आगलागीका घटना भएका थिए। अहिलेको घटनापछि सुरक्षा व्यवस्थापन र पूर्वतयारीबारे पुनः प्रश्न उठ्न थालेको छ।




प्रतिकृया