प्रभु बैंकको नाफा आधाभन्दा बढी घट्यो, खराब कर्जा तीव्र बढ्यो
प्रकाशित मिति
२०८३ बैशाख १५ गते, मंगलवार ०९:२५
१५ बैशाख २०८३ काठमाडौं- प्रभु बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमास (चैत मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार बैंकको नाफामा उल्लेखनीय गिरावट आएको छ भने खराब कर्जा (एनपीएल) उल्लेख्य रूपमा बढेको छ।
सार्वजनिक विवरणअनुसार, गत आवको सोही अवधिमा १ अर्ब ८७ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालू आवको चैत मसान्तसम्म ५४.६१ प्रतिशत गिरावटसहित ८५ करोड १५ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ।

बैंकको खुद ब्याज आम्दानी भने सामान्य रूपमा बढ्दै ७ अर्ब ८ करोड ५६ लाख रुपैयाँबाट ७ अर्ब १८ करोड १९ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कुल सञ्चालन आम्दानी पनि ९ अर्ब ६१ करोड ९० लाख रुपैयाँबाट बढेर ९ अर्ब ८२ करोड ४४ लाख रुपैयाँ पुगेको छ।

तर आम्दानीमा सामान्य वृद्धि भए पनि सञ्चालन मुनाफा ३ अर्ब ४३ करोड ५२ लाख रुपैयाँबाट ३४ प्रतिशतले घटेर २ अर्ब २६ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ। वितरणयोग्य मुनाफा अझै ऋणात्मक अवस्थामा रहेको छ, जुन ३ अर्ब ३९ करोड ४३ लाख रुपैयाँबाट बढेर ४ अर्ब २८ करोड ८१ लाख रुपैयाँ ऋणात्मक पुगेको छ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा ५.०९ प्रतिशतबाट बढेर ८.८४ प्रतिशत पुगेको छ, जसले कर्जा गुणस्तरमा दबाब देखाएको छ। बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि १०.६३ रुपैयाँबाट घटेर ४.८२ रुपैयाँमा झरेको छ। बैंकको बेस रेट ५.१४ प्रतिशत र प्रतिसेयर नेटवर्थ १४६.२६ रुपैयाँ कायम रहेको छ।
हाल बैंकको चुक्ता पूँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १५ अर्ब १७ करोड ८९ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्म बैंकले २ खर्ब २१ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गर्दै ३ खर्ब ३५ अर्ब ५३ करोड रुपैयाँ निक्षेप संकलन गरेको जनाएको छ। बैंकको कुल सम्पत्ति ४ खर्ब १ अर्ब ९४ करोड रुपैयाँ नाघेको छ।




प्रतिकृया