गगन थापालाई राजीनामा होइन, चाँडो महाधिवेशनमा जान चन्द्र भण्डारीको सुझाव
प्रकाशित मिति
२०८२ फाल्गुन २६ गते, मंगलवार १०:३९
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति गगन थापालाई राजीनामा दिनुभन्दा चाँडो महाधिवेशनमा जाने निर्णय गर्न सुझाव दिएका छन्।
भण्डारीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै कांग्रेसको अधिवेशनका लागि बनेको चुनाव नियमित नभएकाले नैतिकताका नाममा राजीनामा दिनु उपयुक्त नहुने बताएका छन्। उनले लेखेका छन्, “अधिवेशनका लागि बनेको कांग्रेसको चुनाव नियमित थिएन। त्यसैले गगनकुमार थापाज्यूले नैतिकताका नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो हो।”
उनले अहिलेको अवस्थामा कांग्रेसलाई जोगाउनु नै सबैको नैतिक दायित्व भएको उल्लेख गर्दै युवाहरू पार्टीबाट टाढिँदै गएको अवस्थामा कांग्रेसलाई सुदृढ बनाउने प्रयास गर्नुपर्ने बताएका छन्। यस्तो समयमा पार्टी छाडेर हिँड्न नहुने उनको भनाइ छ।
भण्डारीले नेपाली राजनीतिमा नैतिकता कमजोर बन्दै गएको टिप्पणी गर्दै नयाँ सोच, नयाँ नेतृत्व र नयाँ पुस्ताको आवश्यकता रहेको बताएका छन्। “नैतिकता त नेपाली राजनीतिमा प्रायः मरिसकेको अवस्था छ, त्यसैले अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ विरुवा रोप्नैपर्छ,” उनले भनेका छन्।
उनले समस्या देखेर भाग्नु भन्दा उपचार गरेर संगठन जोगाउनु नै साँचो नेतृत्वको कर्तव्य भएको उल्लेख गर्दै नेपाली कांग्रेसलाई बचाउने लडाइँ अझै सम्भव रहेको तर त्यसका लागि इच्छाशक्ति र साहस आवश्यक पर्ने बताएका छन्।







प्रतिकृया