जेनजी आन्दोलनमा दमन गर्ने सबैमाथि कारबाही गर्न सिफारिस : कार्की
प्रकाशित मिति
२०८२ फाल्गुन २४ गते, आईतवार ०४:३०
काठमाडौं । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले जेनजी आन्दोलनका क्रममा गोली चलाउन आदेश दिने र रोक्न नसक्ने सबैलाई कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ।
आयोगका संयोजक गौरीबहादुर कार्कीले आइतबार प्रधानमन्त्रीलाई आयोगको अन्तिम प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै भदौ २३ गते युवामाथि गोली चलाउन आदेश दिने तथा गोली नरोक्ने व्यक्तिहरूलाई कारबाही गर्न सिफारिस गरिएको जानकारी दिए। उनका अनुसार भदौ २४ गतेको घटनामा पनि दोषी देखिएकाहरूलाई कारबाही गर्न सुझाव दिइएको छ।
कार्कीले आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको उल्लेख गर्दै सरकारले प्रतिवेदन कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे। देश, जनता र शहीदप्रति न्याय हुनेगरी निष्पक्ष रूपमा काम गरिएको दाबी गर्दै उनले आफू सन्तुष्ट रहेको बताए।
उनका अनुसार केही काम बाँकी रहेकाले र त्यसले निर्वाचन प्रक्रियालाई असर पार्न सक्ने देखिएपछि निर्वाचनपछि प्रतिवेदन बुझाइएको हो।
कार्कीले आयोगको प्रतिवेदनका आधारमा दोषीमाथि कारबाही नगरे फेरि आन्दोलन हुन सक्ने भन्दै सरकारलाई सजग गराइएको पनि बताए।








प्रतिकृया