वीरगञ्जमा गोदाममा छापा, व्यापारी–सशस्त्रबीच झडप: तीन प्रहरी घाइते
प्रकाशित मिति
२०८२ माघ २६ गते, सोमबार ०२:५५
२६ माघ,२०८२ काठमाडौं – वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित एक गोदाममा सशस्त्र प्रहरी बल नेपाल र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापा मार्दा व्यापारी र सुरक्षाकर्मीबीच झडप भएको छ। झडपका क्रममा तीन जना सशस्त्र प्रहरी कर्मचारी घाइते भएका छन्।
राजस्व छलीको सूचनाका आधारमा पुगेको टोलीले प्रमोद कुमार कानुले सञ्चालन गरेको ‘बबिता इन्टरप्राइजेज’ नामक गोदाममा खानतलासी सुरु गरेपछि स्थानीय व्यापारीहरूले विरोध जनाएका थिए। व्यापारीहरूले सामानको बिलबिजक स्पष्ट हुँदाहुँदै पनि नियन्त्रणमा लिन खोजिएको आरोप लगाएका छन्।

सशस्त्र प्रहरी बल, प्रस्तावित सीमा सुरक्षा बल वीरगञ्ज भन्सारमा कार्यरत सशस्त्र प्रहरी नायव उपरीक्षक विकास अधिकारीका अनुसार विरोधका क्रममा आक्रोशित समूहले ढुंगामुढा गरेपछि स्थिति तनावग्रस्त बनेको हो। ढुंगा प्रहारबाट सशस्त्र प्रहरीले प्रयोग गरेको गाडीको अगाडिको सिसा फुट्नुका साथै तीन जना प्रहरी सामान्य घाइते भएका छन्।

छापाका क्रममा गोदामबाट पाँच पोका साडी, कुर्ता–सुरुवाल लगायत कपडाका सामग्री नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइएको सामानको अनुमानित मूल्य करिब पाँच लाख रुपैयाँ बराबर रहेको बताइएको छ, यद्यपि विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ।
हाल सामानको लगत संकलन र मुचुल्का उठाउने काम भइरहेको छ। गोदामको स्वामित्व र सामान वैध वा अवैध भन्ने विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। घटनापछि उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।




प्रतिकृया