सरकार नागरिकमैत्री, कबडीलाई उच्च प्राथमिकता दिइने : गृहमन्त्री अर्याल
प्रकाशित मिति
२०८२ माघ १७ गते, शनिबार ०८:४३
१७ माघ,२०८२ काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार नागरिकमैत्री रहेको भन्दै नागरिकका समस्या समाधानका लागि सधैँ सहकार्य र समन्वय गर्दै अघि बढ्ने बताएका छन्।
अखिल नेपाल कबडी सङ्घद्वारा आयोजित २१औँ महिला तथा २५औँ पुरुष राष्ट्रिय कबडी प्रतियोगिताको अवसरमा बोल्दै उनले मुलुकमा सुशासन कायम गर्दै शान्ति सुरक्षा, सामाजिक न्याय तथा नागरिकको जीवनस्तर उकास्नु सरकारको प्रमुख प्राथमिकतामा रहेको र सोहीअनुसार काम भइरहेको बताए।
अन्तरराष्ट्रिय तहका खेलकुद प्रतियोगिताबाट पदक भित्र्याउन सक्ने सम्भावित खेलमध्ये कबडी नेपालमा अग्रपङ्क्तिमा रहेको उल्लेख गर्दै गृहमन्त्री अर्यालले सरकारले कबडी खेललाई उच्च प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे। उनले स्वदेशमै खेलेर जीवनयापन गर्न सक्ने वातावरण निर्माणका लागि खेललाई व्यावसायिक बनाइनुपर्नेमा जोड दिए। खेलप्रति खेलाडीको आकर्षण बढाउने उद्देश्यले दीर्घकालीन योजना तथा नीति निर्माण आवश्यक रहेको उनको भनाइ छ।
यसै अवसरमा अखिल नेपाल कबडी सङ्घका अध्यक्ष तुलसी थापाले नेपाली युवाहरू अवसरको खोजीमा विदेशतर्फ आकर्षित भइरहेको वर्तमान अवस्थामा खेलाडीलाई स्वदेशमै खेल्ने अनुकूल वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याए।
सङ्घका महासचिव अरविन्द झाले ४२ जिल्लामा मान्यता प्राप्त सङ्घले कबडी खेललाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै खेलाडीको हकहित संरक्षणमा निरन्तर काम गर्दै आएको जानकारी दिए।
सातै प्रदेशका करिब २४० खेलाडीको सहभागितामा सम्पन्न प्रतियोगितामा नेपाली सेनाको टोली प्रथम र सशस्त्र प्रहरीको टोली दोस्रो भएको थियो। विजेता तथा उपविजेता टोलीलाई विशेष समारोहका बीच पुरस्कृत गरिएको थियो।








प्रतिकृया