अन्तरिम सरकारका चार जना मन्त्रीले राजीनामा दिएर चुनावी मैदानमा उत्रिए
प्रकाशित मिति
२०८२ माघ ६ गते, मंगलवार १२:४१
६ माघ,२०८२ काठमाडौं – वर्तमान अन्तरिम सरकारका चार जना मन्त्रीले राजीनामा दिएर आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका छन्। गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको थियो। त्यसकै अन्तर्गत रहेका शिक्षामन्त्री महावीर पुनसहित चार जना मन्त्रीहरूले राजीनामा दिँदै चुनावी गतिविधि सुरु गरेका हुन्।
आज बिहानै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्। निवर्तमान ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङ काठमाडौं–३ बाट, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल ललितपुर–२ बाट, र युवा तथा खेलकुद मन्त्री वब्लु गुप्ता सिराहा–१ बाट चुनाव लड्दैछन्।
फागुन २१ गते हुने निर्वाचनका लागि आज प्रत्यक्षतर्फको मनोनयन दर्ताको अन्तिम दिन हो। २७५ सदस्यीय प्रतिनिधिसभामा ११० सदस्य समानुपातिक प्रणालीबाट र १६५ सदस्य प्रत्यक्ष प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ। समानुपातिक तर्फको मनोनयन प्रक्रिया पुस १३ र १४ गते नै सम्पन्न भइसकेको छ।








प्रतिकृया