रास्वपाको केन्द्रीय सचिवालय बैठक सुरु, जेलबाट रिहापछि पहिलोपटक सहभागी भए रवि लामिछाने
प्रकाशित मिति
२०८२ पुष २० गते, आईतवार ०२:४३
२० पुस,२०८२ काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बैठक सुरु भएको प्रवक्ता मनिष झाले जानकारी दिए। बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रियासँग सम्बन्धित विषयहरूमा छलफल भइरहेको जनाइएको छ।
प्रवक्ता झाका अनुसार, पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किएपछिको यो पहिलो सचिवालय बैठक हो। लामिछाने पुस ४ गते उच्च अदालत बुटवलको आदेशअनुसार धरौटीमा रिहा भएका थिए। कागजी प्रक्रिया पूरा भएपछि उनी कारागारबाट छुटेका हुन्।
सुरुमा उनलाई रुपन्देही कारागारमा राखिएको थियो। तर, आफैँले जेल सरुवा माग गरेपछि उनलाई ललितपुरस्थित नख्खु कारागारमा सारिएको थियो। बिगोबापत २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएपछि उनी रिहा भएका थिए।
जेलबाट रिहा भएपछि लामिछाने पहिलोपटक केन्द्रीय सचिवालय बैठकमा सहभागी भएका हुन्।







प्रतिकृया