‘संयुक्त जेनजी’ आन्दोलनबारे जेनजी इन्डिजिनियसको असहमति,सहभागी नहुन आग्रह
प्रकाशित मिति
२०८२ पुष ७ गते, सोमबार १२:५७
७ पुस,२०८२ काठमाडौं— मिराज ढुंगाना नेतृत्वको समूहले घोषणा गरेको ‘संयुक्त जेनजी’ आन्दोलनप्रति जेनजी इन्डिजिनियसले असहमति जनाएको छ । सोमबारका लागि तय गरिएको उक्त आन्दोलनबारे जेनजी इन्डिजिनियसले यसलाई एकतर्फी रूपमा अघि बढाइएको कदम भएको जनाएको छ ।
जेनजी इन्डिजिनियसका संयोजक संग्राम सिंह किराँतीले जारी गरेको विज्ञप्तिमा ढुंगाना समूहले अघि सारेका केही एजेन्डाप्रति गम्भीर प्रश्न उठाइएको छ । विज्ञप्तिमा सर्वपक्षीय सरकारको माग आन्दोलनको मूल उद्देश्यसँग मेल नखाने दाबी गरिएको छ ।
विज्ञप्तिमा २३ भदौमा भएको आन्दोलनका क्रममा ढुंगानाको भूमिकाबारे पनि प्रश्न उठाइएको छ । आन्दोलनको तयारी भइरहँदा फरक स्थानमा गएर सहभागी नहुन अपिल गरिएको विषय उल्लेख गर्दै अहिले आएर आन्दोलनको नेतृत्व दाबी गर्नु उपयुक्त नहुने जेनजी इन्डिजिनियसको भनाइ छ ।
जेनजी इन्डिजिनियसले ढुंगाना समूहप्रति बाह्य प्रभाव र स्वार्थ समूहको संलग्नता हुनसक्ने आशंका पनि व्यक्त गरेको छ । राजधानीका विभिन्न स्थानमा आयोजना भएका कार्यक्रमहरूबारे पारदर्शिता आवश्यक रहेको उल्लेख गर्दै यस विषयमा स्पष्टता माग गरिएको छ ।
विज्ञप्तिमा ढुंगाना समूहले जेनजी आन्दोलनको मूल भावना कमजोर पार्न सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । साथै, ७ पुसमा हुने भनिएको आन्दोलनप्रति सतर्क रहन आदिवासी जनजाति युवाहरूलाई अपिल गरिएको छ ।
युवा पुस्तालाई विभिन्न नाममा भइरहेका आन्दोलनबारे सचेत रहन र जेनजी आन्दोलनका उपलब्धिहरू जोगाउन एकताबद्ध हुन जेनजी इन्डिजिनियसले आग्रह गरेको छ ।








प्रतिकृया