शिक्षाका नाममा विदेशिने रकम बढ्दो, चार महिनामै करिब ४३ अर्ब बाहिरियो
प्रकाशित मिति
२०८२ पुष १ गते, मंगलवार ०९:०७
१ पुष,२०८२ काठमाडौं— देशभित्र विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहे पनि शिक्षाका लागि विदेशिने रकम निरन्तर बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनाको तथ्यांकअनुसार शिक्षातर्फको व्यय ४२ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा शिक्षातर्फ ३२ अर्ब २२ करोड रुपैयाँ खर्च भएको थियो । यसअनुसार चालु आवको पहिलो चार महिनामा मात्रै करिब १० अर्ब रुपैयाँ बढी शैक्षिक गतिविधिका लागि देशबाट बाहिरिएको देखिन्छ ।
यस्तै, सेवा खाताअन्तर्गत भ्रमण व्यय पनि उल्लेख्य रूपमा बढेको छ । समीक्षा अवधिमा भ्रमण व्यय १६.४ प्रतिशतले वृद्धि भई ६४ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यय ५५ अर्ब ४९ करोड रुपैयाँ थियो ।
भ्रमण आयतर्फ भने ८.१ प्रतिशतको वृद्धि देखिएको छ । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण आय १९ अर्ब १९ करोड रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १७ अर्ब ७६ करोड रुपैयाँ थियो ।
यद्यपि, सेवा खाताको समग्र स्थिति अझै घाटामै छ । समीक्षा अवधिमा खुद सेवा आय ३२ अर्ब ६८ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २३ अर्ब एक करोड रुपैयाँ रहेको थियो ।







प्रतिकृया