• १ असोज २०८३, बिहीबार
  • १ः२७ दिउँसो

कांग्रेसले जलेको केन्द्रीय कार्यालय पुनर्निर्माणका लागि २५ करोड संकलन अभियान शुरू

प्रकाशित मिति

२०८२ मंसिर १५ गते, सोमबार १०:१४

मंसिर १५ , २०८२ काठमाडौं – नेपाली कांग्रेसले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते जलाइएको केन्द्रीय कार्यालय भवन पुनर्निर्माणका लागि पार्टीभित्रैबाट करिब २५ करोड रुपैयाँ संकलन गर्ने निर्णय गरेको छ। सानेपामा बीपी कोइरालाको नाममा बनेको सो भवन ७५ प्रतिशतभन्दा बढी क्षतिग्रस्त भएकोले पुरानै अवस्थामा पुनर्निर्माण आवश्यक रहेको पार्टीले जनाएको छ।

National Life

पुनर्निर्माणका लागि कांग्रेसले देशभरका पार्टी संरचना, क्रियाशील सदस्यदेखि जनप्रतिनिधिसम्मबाट अनिवार्य रूपमा रकम संकलन गर्ने गरी परिपत्र जारी गरिसकेको छ। १९ कात्तिकमा कोषाध्यक्ष उमेश श्रेष्ठ र मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी परिपत्रअनुसार सबै तहका कार्यसमितिहरू, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि तथा स्थानीय तहका जनप्रतिनिधिबाट निश्चित रकम उठाइनेछ।

परिपत्रअनुसार प्रदेश कार्यसमितिबाट पाँच–पाँच लाख, जिल्ला कार्यसमितिबाट निर्वाचन क्षेत्रको सङ्ख्या अनुसार ३० देखि ७५ हजार, प्रतिनिधिसभा क्षेत्रले ३० हजार र प्रदेश सभा क्षेत्रले २० हजारका दरले रकम पठाउनु पर्नेछ। महानगर, उपमहानगर, नगरपालिका तथा गाउँपालिकाबाट समेत निश्चित रकम संकलन गरिनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

सबैभन्दा ठूलो रकम क्रियाशील सदस्यबाट उठाइनेछ। हाल पार्टीमा ८ लाख ७० हजारभन्दा बढी क्रियाशील सदस्य रहेकोमा प्रत्येक सदस्यबाट १५० रुपैयाँ लिएर मात्र करिब १३ करोड रुपैयाँ संकलन हुने अनुमान छ।

तोकिएका सबै संरचनाबाट रकम उठाउँदा करिब २५ करोड रुपैयाँभन्दा बढी संकलन हुने कांग्रेसको अनुमान छ। यस्तै, स्थानीय तहबाट विजयी जनप्रतिनिधिहरू—महानगरदेखि वडा तहसम्मका—सबै जनप्रतिनिधिबाट एक महिनाको तलब अनिवार्य रूपले बुझाउन निर्देशन दिइएको छ, जसबाट मात्रै करिब ६ करोड रुपैयाँ जुट्ने देखिएको छ।

कांग्रेसले यो कठिन परिस्थितिमा पार्टी कार्यालय पुनर्निर्माण सबैको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै आवश्यक सहयोगका लागि सबै तहका सदस्य र जनप्रतिनिधिलाई आग्रह गरेको छ।

प्रतिकृया