आन्दोलनमा हुने गलत घुसपैठ रोक्न राज्य सक्रिय हुनुपर्छ : निजी क्षेत्र
प्रकाशित मिति
२०८२ मंसिर ५ गते, शुक्रबार ०९:१३
मंसिर ५, २०८२ काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व, सुशासन र शान्ति–सुरक्षा मजबुत गर्दै लगानीमैत्री वातावरण निर्माण गर्नु अहिलेको प्रमुख राष्ट्रिय आवश्यकता भएको बताएका छन्। शीतल निवासमा शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघसहित निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधिसँगको भेटवार्तामा उनले लगानीकर्ताको मनोबल कमजोर हुनु अर्थतन्त्रका लागि चिन्ताजनक भएको बताए।
राष्ट्रपति पौडेलले भदौ २३ र २४ मा भएका तोडफोड र आगजनीका घटनामार्फत सार्वजनिक तथा निजी सम्पत्तिमा पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्योगी–व्यवसायीलाई हतोत्साहित हुन नदिन आग्रह गरे। उनले भने, “राज्य तपाईंहरूको साथमा छ। शान्ति–सुरक्षा र लगानीको वातावरण बनाउन सरकारले आवश्यक पहल गर्नै पर्छ।”
राष्ट्रपतिले निजी क्षेत्रलाई देशको आर्थिक मेरुदण्डको रूपमा उल्लेख गर्दै औद्योगिक तथा व्यवसायिक विकास विना समृद्धि सम्भव नहुने बताए। कठिन परिस्थितिमा पनि निजी क्षेत्रले देखाउँदै आएको धैर्य र साहस सराहनीय रहेको उनले उल्लेख गरे।
भेटवार्तामा निजी क्षेत्रका प्रतिनिधिहरूले आन्दोलनका नाममा हुने गलत घुसपैठ नियन्त्रण गर्न राज्य संयन्त्र सक्रिय हुनुपर्नेमा जोड दिए। उनीहरूका अनुसार दण्डहीनताले शान्ति, स्थायित्व र लगानी वातावरणमा प्रतिकूल प्रभाव पार्न सक्छ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भदौ २३ र २४ का घटनामा सार्वजनिक–निजी सम्पत्तिमा ठूलो क्षति भएको बताउँदै दोषीमाथि कारबाही हुनुपर्ने माग गरे। उनले जेनजी आन्दोलनले उठाएका सुशासन र पारदर्शिताका मुद्दाहरू उद्योग क्षेत्रले पनि उठाउँदै आएको बताए।
महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले उजुरी नलिने र कारबाहीमा उदासीनता बढ्दै गए दण्डहीनता फैलिने खतरा रहेको उल्लेख गरे। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले व्यवसायीको मनोबल कमजोर भएको बताउँदै शान्ति–सुरक्षालाई पहिलो प्राथमिकता दिन आग्रह गरे।
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले स्थायित्व विना आर्थिक गतिविधि सम्भव नहुने भन्दै व्यक्तिगत तथा औद्योगिक सुरक्षामा राज्य संयन्त्र गम्भीर हुनुपर्ने टिप्पणी गरे।








प्रतिकृया