यातायात विभागले लाइसेन्स विवरण अब, फेसबुकमा सार्वजनिक गर्ने
प्रकाशित मिति
२०८२ मंसिर ५ गते, शुक्रबार ०९:२३
मंसिर ५, २०८२ काठमाडौं — यातायात व्यवस्था विभागले छपाइ पूरा भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को विवरण अब फेसबुकमार्फत सार्वजनिक गर्ने भएको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै विभागले सुरक्षण मुद्रण केन्द्रबाट छपाइ समाप्त भई विभागमा प्राप्त भएका लाइसेन्सहरूको नामावली ‘हेल्लो यातायात व्यवस्था विभाग’ नामक विभागको आधिकारिक फेसबुक पेजमा प्रकाशन गरिने जनाएको हो।
विभागले सूचनामा भनिएको छ, “सवारी चालक अनुमतिपत्र छपाइका लागि अनलाइन फारम भरी ‘एप्रुभ’ भएपश्चात ७२ घण्टाभित्र लाइसेन्स लिन आउनुहोला भन्ने जानकारी यसअघि प्रणाली ध्वस्त हुनुअघि आउने गरेको थियो । अब सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका लागि विभागमा प्राप्त भएका अनुमतिपत्रहरूको विवरण विभागको फेसबुक पेजमा प्रकाशन गरिने छ।”
यसअघि सेवा ग्रहीताहरुलाई प्रणालीमार्फत ७२ घण्टाभित्र लाइसेन्स लिन आउन सन्देश पठाइने गरिएको थियो। तर ‘जेनजी आन्दोलन’का क्रममा विभागको सूचना प्रणाली बिग्रिएपछि वैकल्पिक माध्यमको आवश्यकता परेको विभागको भनाइ छ।
फेसबुकमा आफ्नो नाम प्रकाशित भएको अवस्थामा सेवाग्राहीहरूले सक्कल राजस्व रसिद तथा पुरानो सवारी चालक अनुमतिपत्र लिएर विभागमा उपस्थित हुन विभागले अनुरोध गरेको छ। विभागका अनुसार फेसबुकमार्फत जानकारी प्रकाशित गर्ने यो व्यवस्था स्थायी बनाउने तयारी पनि भइरहेको छ, जसले सेवाग्राहीलाई कागजी र प्राविधिक समस्या भोग्न नपर्ने अपेक्षा गरिएको छ।








प्रतिकृया