सुमित्रा सुवेदी भण्डारी सुवेदी पदमुक्त,अब को बन्ला मधेश प्रदेश प्रमुख ?
प्रकाशित मिति
२०८२ कार्तिक २५ गते, मंगलवार ११:२३
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार, संविधानको धारा १६५ को उपधारा (१)(ख) बमोजिम मंगलबार सुवेदीलाई पदमुक्त गरिएको हो।
यसअघि, मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सुवेदीलाई पदमुक्त गरी उनको स्थानमा सुरेन्द्र लाभ कर्णलाई नयाँ प्रदेश प्रमुखमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो।
सुवेदी हालै मधेश प्रदेशको राजनीतिक घटनाक्रममा विवादमा परेकी थिइन्। लोसपा नेता जितेन्द्र सोनलले संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्री बनेका थिए। उनले विश्वासको मत पाउने स्थिति देखेर कात्तिक २२ गते प्रदेश सभामा राजीनामा घोषणा गरेका थिए।
राजीनामापछि सुवेदीले सबैभन्दा ठूलो दलको हैसियतमा एमाले नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।तर, उनी स्वास्थ्य उपचारका लागि काठमाडौं जाँदैछु भन्दै बर्दिबास नगरपालिका–३ स्थित पानस होटलमा सोमबार बिहान झिसमिसेमा नै यादवलाई शपथ ग्रहण गराएको घटनाले विवाद चर्किएको थियो।
सोही घटनापछि सरकारले तुरुन्तै मन्त्रीपरिषद बैठक बोलाएर सुवेदीलाई पदमुक्त गरी सुरेन्द्र लाभ कर्णलाई नयाँ प्रदेश प्रमुख बनाउने सिफारिस गरेको हो।







प्रतिकृया