समाजवादीबाट आउने नेताहरूलाई स्वागत गर्न तयार रहेको एमाले सचिव योगेश भट्टराईको भनाइ
प्रकाशित मिति
२०८२ कार्तिक १९ गते, बुधबार १०:३७
कात्तिक १८, २०८२ काठमाडौं— नेकपा (एमाले)का सचिव योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी)बाट पार्टीमा प्रवेश गर्न लागेका नेताहरूलाई खुला रूपमा स्वागत गर्न तयार रहेको बताएका छन्। बुधबार बिहान सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले भनेका छन्, “जनताको बहुदलीय जनवाद (जबज) प्रतिको प्रतिबद्धता नै एकताको मुख्य आधार हो।” उनले नीति र नेतृत्वलाई स्वीकार गर्ने कुरा अलग्गै भन्नु नपर्ने उल्लेख गर्दै एकतालाई विचार र मूल्यमा आधारित कदमका रूपमा व्याख्या गरेका छन्।
भट्टराईले लेखेका छन्, “अमुक नेतालाई जिताउनै पर्ने पूर्वशर्त स्वीकार गर्ने या नगर्ने कुरा तपाईंहरूकै विवेकको विषय हो। तर एमालेमा समाहित हुनु कुनै शर्तभन्दा माथिको महत्वको सवाल हो।”
उनको भनाइलाई एमाले नेतृत्वभित्र समाजवादीबाट फर्किन लागेका नेताहरूलाई स्वागत सन्देशका रूपमा व्याख्या गरिएको छ। हाल रामकुमारी झाँक्री, किसन श्रेष्ठलगायतका नेताहरूले माओवादीसँगको एकता अस्वीकार गर्दै एमालेमा फर्किने तयारी गरेका छन्।
योगेशले भनेका छन्:
नेकपा समाजवादीबाट एमालेमा समाहित हुने तयारीमा रहनु भएका कमरेडहरू, पार्टी अध्यक्ष, महासचिव लगायत हामी सबैले यहाँहरूलाई नेकपा एमालेमा समाहित हुन आह्वान गरिसकेका छौ । तपाईंहरुलाई स्वागत गर्न हामी तयार छौ । जनताको बहुदली जनवादप्रतिको प्रतिबद्धता नै हाम्रो एकताको मुख्य आधार हो । अरूसबै तपशीलका विषय हुन । नीति र नेतृत्व स्वीकार गर्नु पर्ने शर्त पनि सुनियो । नीति र नेतृत्वलाई अस्वीकार गरेर सहकार्य कसरी हुन्छ र ? यो भनिरहनु पर्ने विषय नै होईन ।
जबज हाम्रो सिद्धान्त हो, नीति हो । तपाईं हाम्रो साझा प्रयत्नले यसलाई थप परिष्कृत र समृद्ध बनाऊने हो । प्रतिस्पर्धाबाट छानिएको नेतृत्व हाम्रो एकताको आधार हो । पार्टीको ११ औ महाधिवेशनको मिति घोषित छ । महाधिवेशन पूर्व नीति र नेतृत्वको बहस गर्ने वैधानिक अभ्यास पाँचौ महाधिवेशनबाटै स्थापित गरिएको छ ।
यो पार्टी जीवनको लोकतान्त्रिकरणको महत्वपूर्ण आयाम पनि हो । अमुक नेतालाई जिताऊनै पर्ने पूर्व शर्त स्वीकार गर्ने या नगर्ने यो यहाँहरूकै बिबेकको विषय हो । तर एमालेमा समाहित हुनु कुनै शर्तभन्दा पनि माथिको महत्वको सवाल हो । एमालेमा तपाईहरूको सहभागिताबाट कुन नेतालाई फाइदा हुन्छ या हुन्न? कुन नेताले जित्छ या हार्छ? यो गौण हो । हामी चाहन्छौ हाम्रो सहकार्यले नेपाल राष्ट्रले जित्नु पर्छ, नेपाली जानताले जित्नु पर्छ र नेकपा एमालेले जित्नु पर्छ । त्यसका खातिर हामी हजार पटक हार्न तयार छौ ।







प्रतिकृया