ओली र लेखकलाई पक्राउको माग गर्दै जेनजी समूह प्रहरी परिसरमा, निवेदन दर्ता अस्वीकार
प्रकाशित मिति
२०८२ आश्विन २० गते, सोमबार ०९:०५
असोज २०, २०८२ काठमाडौं- जेनजी समूहका अभियन्ताहरू नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै प्रहरी परिसर, काठमाडौं पुगेका छन्।
सुदन गुरुङको नेतृत्वमा रहेको युवा समूहले सोमबार साँझ प्रहरी परिसरमा निवेदन पेश गर्ने प्रयास गरेको हो। प्रहरीका एक अधिकारीका अनुसार उनीहरूले ओली र लेखकमाथि अनुसन्धान गरी कानुनी कारबाही गर्न माग गरेका थिए।
यसअघि पनि जेनजी समूहले सामाजिक सञ्जालमार्फत दुवै नेतामाथि अनुसन्धान गर्नुपर्ने भन्दै अभियान चलाउँदै आएको थियो। सोमबार दिनभर सामाजिक सञ्जालमा सक्रिय रहेपछि उनीहरू प्रत्यक्ष रूपमा प्रहरीसमक्ष पुगेका थिए।
तर प्रहरी स्रोतका अनुसार उनीहरूले ल्याएको निवेदन दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ। कारणबारे प्रहरीले औपचारिक रूपमा केही नखुलाएको भए पनि स्रोतका अनुसार निवेदन आवश्यक कानुनी आधार नभएको भन्दै दर्ता नगरिएको हो।
जेनजी समूह पछिल्लो समय विभिन्न विवादास्पद मुद्दामा आफ्ना गतिविधिका कारण चर्चामा रहँदै आएको छ। यद्यपि, यसपटकको कदममा प्रहरीको प्रतिक्रिया मिल्दो–जुल्दो नभएपछि समूहको आगामी रणनीति के हुने भन्ने चासो बढेको छ।








प्रतिकृया