• १२ असोज २०८३, सोमबार
  • ९ः५९ राती

यस बर्षको दशैँमा ज्ञानेन्द्रले शुभेच्छुकलाई टीका नलगाइदिने

प्रकाशित मिति

२०८२ आश्विन १२ गते, आईतवार १०:१०

असोज १२, २०८२ काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा बिगार्ने, भत्काउने र जलाउने कार्यहरू रोक्दै अब सुधार र समृद्धितर्फ कदम चाल्नुपर्नेमा जोड दिएका छन्। असोज १२ गते दशैँको अवसरमा जारी गरेको शुभकामना सन्देशमा उनले वर्तमान राष्ट्र चरम विध्वंस र शोकको अवस्थामा रहेको उल्लेख गर्दै सबैले विकास र प्रगतिमा जोड दिनुपर्ने बताएका छन्।

National Life

उनले भने, “हामी सबैको आशा, आकांक्षा र अभिलाषा हाम्रो उत्तरोत्तर विकास नै हो।” शाहले राज्य व्यवस्थामा जनमनोभावनालाई समेटेर समय सापेक्ष सुधार आवश्यक रहेको बताए। साथै नयाँ पुस्ताको चाहना र आधुनिक प्रविधि तथा वैज्ञानिक दक्षतालाई अपनाउनुपर्नेमा पनि जोड दिएका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाहको शुभकामना सन्देश पढ्नोस्–

Classic Tech Mobile
Classic Tech Desktop

प्यारा नेपाली दिदीबहिनी तथा दाजुभाइहरू,
हामी नेपालीहरूको राष्ट्रिय चाड विजया दशमी शरद ऋतुको प्रारम्भसँगै हाम्रा घर आँगनमा आएको छ । नवदुर्गा भवानीको पूजा आराधनाका साथ परम्परामा शुभेच्छा सद्भाव आदान प्रदान गरिने दशैँ पर्वको शुभ अवसरमा नेपाल भित्र र बाहिर रहे बसेका सबै नेपालीहरूमा हामी सुख, शान्ति र समृद्धिका निम्ति शुभकामना व्यक्त गर्दछौं ।

हाम्रा पूर्वजहरूले नेपालको एकता, अखण्डता, सार्वभौमिकता र सम्प्रभुताको रक्षा गर्न दिएका त्याग र बलिदान नै हाम्रो अस्तित्व, स्वाभिमान र गौरबशाली संस्कृतिको मेरुदण्ड हो । यही आधारमा नेपाल सदा स्वतन्त्र र स्वाभिमानी राष्ट्रका रुपमा उभिएको छ । कुनै परनिर्भता वा भूराजनीतिक चक्रव्यूहमा नफसी आफ्नो बाटो आफै तय गर्ने सामर्थ्य राख्दै अखण्ड नेपाललाई नवनिर्माण गर्नु परेको छ ।

हामी सबैको आशा, आकांक्षा र अभिलाषा हाम्रो उत्तरोत्तर विकास नै हो । हाम्रो राज्य पद्धति र गतिशील व्यवस्थापनको प्रबन्ध परिपाटीमा जन मनो भावनाको ख्याल राखेर समय सापेक्ष सुधार गर्दै अघि बढ्नु जरुरी छ । विगतको केही समय यता देश र जनताको सर्वोत्तम हितका खाँतिर हामीले गहिरो चिन्ता, चासो तथा सङ्लो दृष्टिकोण अघि सार्दै आएको थियौं । नयाँ – पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्य व्यवस्थाले समेट्नै पर्दछ । विकसित बन्दै गएको आधुनिक प्रविधी र वैज्ञानिक दक्षतालाई हामीले ग्रहण गर्नै पर्दछ । भौतिक विकासलाई अघि बढाउँदै विश्व व्यवस्थामा बदलिदै आएको राष्ट्रिय समाजको संरचनालाई हामीले अँगाल्नु पर्दछ । युग र काल अनुसारका त्यस्ता सबै प्रयत्न गर्दा हामीले हाम्रो आफ्नो पन, पहिचान र मुल्य मान्यताको ख्याल राख्नै पर्दछ । युवा पुस्ता हाम्रा भविश्यका आधारस्तम्भ हुन । उनीहरूमा निहीत देशभक्तिको भावना, उर्जाशक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा लैजाने गर्छ । यही समयको माग हो । हाम्रै देशको दर्पणमा हामी हाम्रो अनुहार हेरौं । बिगार्ने, भत्काउने, जलाउने तिर नै हाम्रो राजकाज धेरै खटि परें । अब बिगार्ने होइन, सपार्ने तिर हाम्रा कार्यक्रम अधि बढ्नु पर्दछ ।

सही, सत्य, अग्रजहरूको आदर गर्ने, मर्यादा र अनुशासन कायम राख्ने, राष्ट्रलाई माया गर्ने राष्ट्रिय सोच एवं चेत पनि हामीमा हुनै पर्दछ । जे भयो भयो, जे जे नहुनु थियो त्यो सबै भयो, अबको नयाँ पुस्ता, आउँदै गरेको नयाँ समय, आशा, विश्वास र भरोसाका साथ अघि बढोस् ।

यतिखेर राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा छ । त्यसैले पारिवारीक र सांस्कृतिक रुपमा मात्रै यो पर्व मनाउन हामी बाध्य छौं । हाम्रो आम शुभेच्छुक नागरिक समुदायलाई पनि विगतमा झैं हामीबाट वृहत्तरुपमा टीका जमरा प्रदान नहुने जानकारी गराउँदछौं । श्री नवदुर्गाभवानीले हामीलाई दिव्यपथ तर्फ अग्रसर राखून् यही हाम्रो कामना । जय नेपाल !

प्रतिकृया