• २० असोज २०८३, मंगलबार
  • ६ः२७ बेलुका

जेनजी आन्दोलनमा बैंक लुटपाट: ५ करोड नगद र १८ केजी सुन चोरी

प्रकाशित मिति

२०८२ आश्विन १ गते, बुधबार ०८:४४

जेनजी आन्दोलनका क्रममा बैंकका शाखाबाट ३७/३८ करोड रुपैयाँ बराबरको नगद र सुन लुटिएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलका अनुसार संसद भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट मात्र ५ करोड रुपैयाँ नगद र १८ केजी सुन लुटिएको छ।

National Life

गभर्नर पौडेलका अनुसार राष्ट्र बैंकको परिषर बाहिर एनआरएनए भवनमा भएको आक्रमणले केही डिभिजनमा क्षति पुर्‍याएको छ, तर मुख्य कार्यसम्पादन हुने ठाउँमा कुनै क्षति पुगेको छैन। उनका अनुसार बैंकका ६८ वटा शाखा र ६९ वटा एटीएम मेसिनमा क्षति पुगेको छ।

नबिल बैंकको चाबहिल शाखा र राष्ट्रिय वाणिज्य बैंकको दुहबी शाखामा आक्रमण भए पनि ठूलो क्षति भएको छैन। तर, सरकारी कार्यालय र व्यापारिक कम्प्लेक्समा आगजनी तथा तोडफोड गर्दा बैंकका शाखा, काउन्टर र एटीएममा क्षति पुगेको गभर्नरले बताए। उनले स्पष्ट पारे, ‘बैंक नै लक्षित गरेर लुटपाट भएको होइन, तर भाटभटेनीभित्र रहेका एटीएम तोडफोड गरिएका छन्। उनीहरुको उद्देश्य बैंकभन्दा पनि भाटभटेनी थियो।’

Classic Tech Mobile
Classic Tech Desktop

गभर्नरले जेनजी आन्दोलनका समयमा भुक्तानी प्रणाली नियमित रहेको र डिजिटल पेमेन्टमा रोकावट नआएको दाबी गरे। उनका अनुसार बैंकमा रहेका निक्षेप सुरक्षित छन्, लकरमा राखिएको पैसा सुरक्षित छ र बैंक खातामा रहेको रकम जोखिममा छैन। उनले पडकास्टमा भने, ‘मलाई सबैभन्दा बढी डर बैंकिङ प्रणाली नै ध्वस्त हुने हो कि भन्ने थियो। तर हामीले वित्तीय क्षेत्र सुरक्षित राख्यौं।’

पौडेलले बैंकका कर्मचारीको प्रतिबद्धतालाई पनि प्रशंसा गरे, ‘कोलाहलको फाइदा उठाउन खोजेनन्, बरु कर्मचारीले जिम्मेवारीपूर्वक काम गरे, जसका कारण वित्तीय क्षेत्र सुरक्षित छ।’

उनले थपे बैंकहरुमा भएको लुटपाटले सेवाग्राहीमा बैंकप्रतिको विश्वास कमजोर भएको भए पनि संसद् भवनको एक शाखा बाहेक अन्य सबै बैंकका शाखा, लकर र खाता सुरक्षित छन्। गभर्नर पौडेलले अन्तिममा भने, ‘बैंकिङ क्षेत्र सुरक्षित छन्, हामीले निगरानी पनि गरिरहेका छौं।’

प्रतिकृया