संघीय तहका दरबन्दी २० प्रतिशतले कटौती गर्ने सचिवहरुको निर्णय
प्रकाशित मिति
२०८२ भाद्र ३१ गते, मंगलवार ०८:०९
भदौ ३१,२०८२ काठमाडौं – निजामती सेवाका सचिवहरुको बैठकले संघीय तहमा रहेका दरबन्दीलाई औसत २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ। मंगलबार मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको सचिवहरूको बैठकले मन्त्रालय, आयोग, सचिवालय र विभिन्न कार्यालयमा रहेका दरबन्दी कटौती गरी २० असोजभित्र मन्त्रिपरिषद्मा संशोधित दरबन्दी स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको हो।
राष्ट्रिय किताबखानाको वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा संघीय तहमा ५१ हजार ७२६ कर्मचारीको दरबन्दी थियो। निर्णय कार्यान्वयन भएमा करिब १० हजार ३०० दरबन्दी कटौती भई संघीय तहको कर्मचारी दरबन्दी ४० हजारमा सीमित हुनेछ।
सचिवस्तरीय बैठकले अनावश्यक देखिएका सरकारी निकाय खारेज गर्ने, गाभ्ने वा हस्तान्तरण गर्ने निर्णयसमेत गरेको छ। यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शासकीय क्षेत्र हेर्ने सचिवले समन्वय गर्ने बताइएको छ।
यस्तै, सेवा प्रवाहमा समस्या नहोस् भन्ने उद्देश्यले रिक्त दरबन्दी तुरुन्तै पदपूर्ति गर्ने निर्णय पनि बैठकले गरेको छ। हालको विषम परिस्थितिमा सार्वजनिक खर्च न्यूनिकरण गर्न सचिवहरुले कुनै कर्मचारीले बैठक भत्ता नलिने, राष्ट्रिय स्तरका गोष्ठी, सेमिनार तथा कार्यशाला सरकारी भवन र हलमै गर्ने व्यवस्था मिलाउने र स्थानीय तहलाई पनि त्यही अनुसार मार्गनिर्देशन गर्ने सहमति गरेका छन्।








प्रतिकृया