प्रधानमन्त्री कार्की : मन्त्रिपरिषद् ११ भन्दा नबढ्ने, दलसम्बद्ध बाहेकका व्यक्तिलाई मात्रै मन्त्री
प्रकाशित मिति
२०८२ भाद्र ३१ गते, मंगलवार ०४:१४
भदौ ३१,२०८२ काठमाडौं – अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषद् ११ जनाभन्दा नबढ्ने गरी विस्तार गर्ने बताएकी छन्। उनले मन्त्रीहरू राजनीतिक दल वा दल–सम्बद्ध व्यक्तिहरुबाट नलिइने स्पष्ट गरेकी छन्।
बीबीसी नेपाली सेवासँगको विशेष अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले मन्त्रालयहरूको संख्या सीमित राख्दै क्षमता र समावेशिता दुवैलाई आधार बनाइने जानकारी दिइन्। “मन्त्रिपरिषद् करिब १० देखि ११ भन्दा नराख्ने र कसको के क्षमता छ, त्यो अनुसार हेरेर दिने हो,” प्रधानमन्त्री कार्कीले भनिन्।
अहिलेसम्म तीन मन्त्री नियुक्त भइसकेको बताउँदै उनले थपिने मन्त्रीमा समावेशिता झल्किने व्यवस्था गरिने उल्लेख गरिन्।
“पोलिटिक्समा नरहनु भएका नन्–पोलिटिकल र कुनै संस्थामा काम गरेका व्यक्तिहरुलाई ल्याउँछौं, त्यस्ता मान्छे खोजिइरहेका छन्,” उनले भनिन्।
उनका अनुसार राजनीतिक आबद्धता भएका व्यक्तिलाई मन्त्री बनाउँदा चुनावको काममा ध्यान केन्द्रित गर्न समस्या हुने भएकाले निर्वाचनमा प्रत्यक्ष संलग्न नहुने व्यक्तिहरुलाई मात्रै मन्त्री बनाइनेछ।








प्रतिकृया